हुम्लामा टर्च बालेरै प्रसूति सेवा

रासस

बुधबार, ०६ बैशाख २०८०, २० : २६
हुम्लामा टर्च बालेरै प्रसूति सेवा

हुम्ला । हुम्लाको दुर्गम बस्तीमा विद्युत् सेवा सर्वसुलभ नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने गरेको छ । विशेषगरी स्वास्थ्य चौकीमा  प्रसूति गराउन समस्या हुने गरेको जनाइएको छ । ‘टर्च’ बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको स्वास्थकर्मीको भनाइ छ  । विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत्  वितरण केन्द्रको चर्को लोड सेडिङका कारण स्वास्थ्यकर्मीलाई ‘मोबाइल’ र अन्य ‘टर्च’ बालेर सुत्केरी गराउनु परेको हो । 

ठेहे स्वास्थ्य चौकीका प्रमुख दानबहादुर बोहराले भने, “मोबाइल र टर्च बालेर  सुत्केरी गराउनुपर्ने बाध्यता रहेको छ  । हिल्दुम विद्युत् वितरण केन्द्रबाट आपूर्ति हुने विद्युत् नियमित नहुँदा गर्भवतीलाई सुत्केरी गराउन समस्या हुने गरेको छ । ”

यही वैशाख ४ मा प्रसूतिगृहमा आएकी ठेहेकी २० वर्षीया नन्द भण्डारीलाई तीन घण्टा लामो समय टर्च बालेर प्रसूति गराउनु परेको गुनासो प्रमुख बोहराले गरे । विद्युत् आपूर्ति नहुनु र स्वास्थ्य चौकीमा रहेको सोलारले काम नगरेपछि स्वास्थ्यकर्मी र बिरामीलाई समस्या खेप्दै आउनुपरेको छ । 

 

नवजात शिशुलाई अन्धकारमा हेरचाह गर्नु अनि आमालाई पनि चिसो पानीले सफा गर्नुपर्ने बाध्यता छ । हिल्दुम विद्युत् वितरण केन्द्रले हाल दैनिक १७–१८ घण्टा लोड सेडिङ गर्ने गरेको कारण सुत्केरी तथा बिरामीको उपचार गर्न कठिन हुने गरेको छ । 

विद्युत् लोडसेडिङ बढेका कारण ठेहे स्वास्थ्य चौकी मात्र नभएर बरगाउँ, डाँडाफया र स्याडाँ स्वास्थ्य चौकीको अवस्था पनि उस्तै रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस