सत्तारूढ गठबन्धनबाट बाहिरिँदै जनमत

पत्रपत्रिकाबाट

शनिबार, ०२ बैशाख २०८०, ०७ : ५४
सत्तारूढ गठबन्धनबाट बाहिरिँदै जनमत

काठमाडौं । खानेपानी मन्त्रालय नपाएपछि सरकार छाडेको जनमत पार्टी सत्तारूढ गठबन्धनबाटै अलग हुने तयारी जुटेको छ। गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) लगायत दलले धोका दिएको जनमत पार्टीका नेताको बुझाइ छ।

यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा सत्तारूढ गठबन्धनमा रहेका दलले जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय औपचारिक रूपमै गरेकाले जनमतका उम्मेदवारले गठबन्धनबाट सहयोग नपाउने भएका छन्।

यसबाट बारा २ मा सत्तारूढ गठबन्धनबाटै दुई उम्मेदवार मैदानमा छन्। सत्तारूढ गठबन्धनले यादवलाई जिताउन परिपत्र नै जारी गरेको छ। यसकारण जनमतका अध्यक्ष सिके राउत गठबन्धनसँग चिढिएका छन्।

चैतमा सम्पन्न उपराष्ट्रपति निर्वाचनमा पनि आफूहरूलाई गठबन्धनबाट धोका भएको जनमतका नेताहरूको निष्कर्ष छ। उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनमा रहेका दलले जसपाका उम्मेदवारलाई सहयोग गरेका थिए भने जनमतका उम्मेदवारले गठबन्धनमै रहेका दलहरूबाट सहयोग पाएका थिएनन्। जनमतका महासचिव चन्दन सिंहले पछिल्लो समय गठबन्धनबाट असहयोग हुँदै आएकाले उपनिर्वाचनपछि जनमत पार्टीले सत्तारूढ गठबन्धन छाड्ने संकेत गरे। ‘गठबन्धनमा रहने कि नरहने भन्ने विषयमा वैशाख १० गतेलगत्तै पछि बैठक गरेर औपचारिक निर्णय गर्छौं,’ सिंहले भने, ‘गठबन्धनमा रहेका दलहरूको व्यवहारबाट हामी खुसी छैनौं।’

जनमत पार्टीका अर्का एक नेताले भने, ‘अहिलेकै अवस्थामा हामी गठबन्धनमा नरहने करिबकरिब निश्चित छ। नेपाली कांग्रेस, माओवादी केन्द्र केही लचिलो भए र हामीले मागेको मन्त्रालय दिन तयार भए भने त्यो बेग्लै कुरा हो,’ ती नेताले भने।

महासचिव सिंहले भने जनमत पार्टी पुनः खानेपानी मन्त्रालयमा नफर्किने प्रस्ट पारे। ‘हामीले खानेपानी मन्त्रालय छाडिसकेका छौं। किन फर्कने?’ उनले भने।

जनमतले उद्योग मन्त्रालय पाउनुपर्ने माग राख्दै आएको थियो तर गठबन्धनमा रहेका दलहरूले जनमतलाई उद्योग मन्त्रालय दिन तयार भएनन्। त्यसलगत्तै खानेपानी मन्त्री तथा जनमत पार्टीका नेता अब्दुल खानले राजीनामा गरेका थिए।

‘हामीलाई उद्योग मन्त्रालय दिने सहमति भएको थियो तर अन्तिम समयमा धोका भयो,’ जनमत पार्टीका अर्का एक नेताले भने। ती नेताका अनुसार जनमतलाई उद्योग मन्त्रालय नदिनुमा जसपाका अध्यक्ष उपेन्द्र यादवको हात रहेको छ। सत्तारूढ गठबन्धनमा अहिले १० दल छन्। जनमत गठबन्धनबाट बाहिरियो भने सरकारलाई नौ दलको समर्थन हुनेछ।

यता उपनिर्वाचनमा यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहबीच टक्कर बढ्दै गएको छ। चुनाव नजिकिँदै जाँदा जसपा र जनमत पार्टीका कार्यकर्ता अहिले एकअर्का पार्टीका उम्मेदवारको विरोधमा गालीगलौजमै उत्रिएका छन्। यादवलाई हराउन राउत केही दिनदेखि बारा २ मै ढुक्कसँग बसेका छन्। सार्वजनिक कार्यक्रममा उनले यादवको चर्को आलोचना गर्ने गरेका छन्। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस