विकास र समृद्धिको एजेन्डा पूरा नगरी भाग्ने छुट हामीलाई छैन : जनार्दन शर्मा

सफल खबर संवाददाता

आइतबार, २६ चैत्र २०७९, ११ : ०७
विकास र समृद्धिको एजेन्डा पूरा नगरी भाग्ने छुट हामीलाई छैन : जनार्दन शर्मा

रुपन्देही। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्माले अहिले मुलुकमा देखिएको आर्थिक संकटसँग जुध्न उत्पादनलाई जोड दिनुपर्ने बताएका छन् ।प्रेस सेन्टर रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाभन्दा पनि अब सिंगो देश र जनतालाई उत्पादनसँग जोडेर अगाडि बढ्नुको विकल्प नभएको बताए । ‘के कारणले अर्थतन्त्र कमजोर भयो भन्ने कुरा सबैलाई छर्लङ्ग भइसकेको विषय हो’ शर्माले भने –‘अब उत्पादनसँग जनतालाई जोड्ने गरी योजना लागू गर्नुपर्छ ।

’उनले देशको आर्थिक संकट समाधानका लागि मल कारखाना उत्पादन गर्नुपर्नेमा जोड दिए । नेता शर्माले वर्तमान सरकारसामु संविधान कार्यान्वयन गरेर जनताको आकाङ्क्षा पूरा गर्नुपर्ने दायित्व रहेको बताएका छन् ।उनले सबै राजनीतिक दलहरुबीच मुद्दाहरुमा सहमति गरेर संविधानको मर्म र भावनाअनुसार अगाडि बढ्नुपर्ने पक्षमा रहेको बताए । तर, उनले संविधान रक्षाकै लागि वर्तमान गठबन्धन बनेको बताउँदै सरकारले नागरिकको अपेक्षाअनुसार संविधान कार्यान्वयन गर्नुपर्ने जनाएका छन् ।पूर्व अर्थ र गृहमन्त्रीसमेत रहेका शर्माले सरकारले न्यूनतम साझा कार्यक्रममा समेत नागरिकको अपेक्षाअनुसार विकास र समृद्धिको मुद्दालाई कार्यान्वयन गर्ने बताए ।

‘संविधानको रक्षा गर्दै शान्ति प्रक्रियाका कामहरू अगाडि बढाउनुपर्नेछ’ उनले भने । उनले नागरिकमा विकास र समृद्धिको चाहना पूरा नभएकै कारण नेताहरूप्रति प्रश्नहरू आइरहेको बताउँदै नयाँ वर्ष २०८० लाई अवसरका रूपमा वर्तमान सरकार र दलहरूले लिनुपर्ने बताए । ‘विकास र समृद्धिको एजेन्डा पूरा नगरी भाग्ने छुट हामीलाई छैन’ उनले भने ।उनले सामाजिक रूपान्तरण, सामाजिक न्याय, विकास, सुशासन र आर्थिक विकास सम्बोधन गर्दै संविधान कार्यान्वयन नै अहिलेको सरकारको प्राथमिकतामा रहेको बताए । नेता शर्माले आफूहरू प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए ।उनले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्दै गर्दा श्रमजीवी पत्रकारहरूको पेशागत हकलाई समेत सुनिश्चित गर्नेतर्फ पत्रकारहरूको ध्यान जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस