काबुलबाट बेलायत ल्याइएका नेपाली सुरक्षाकर्मीलाई निर्वासनको तयारी

सफल खबर संवाददाता

बुधबार, २२ चैत्र २०७९, १६ : ०३
काबुलबाट बेलायत ल्याइएका नेपाली सुरक्षाकर्मीलाई निर्वासनको तयारी

एजेन्सी। अफगानिस्तानमा रहेको बेलायती दूतावासका कर्मचारीलाई सुरक्षा दिने नेपाली सुरक्षाकर्मी हाल हिरासतमा छन् र निर्वासनको सामना गरिरहेका छन् । उनीहरूलाई सन् २०२१ को अगस्ट महिनामा अफगानिस्तानबाट हेलिकोप्टरमार्फत बेलायत पठाइएको थियो । काबुल तालिबानको कब्जामा परेपछि दुई भारतीयसहित ११ नेपाली गरी १३ सुरक्षाकर्मीलाई बेलायत लगिएको थियो । गार्डियनका अनुसार कतिपयलाई अनिश्चितकालीन बिदा दिइएको छ भने कतिपय निर्णयको पर्खाइमा छन् । तीमध्ये एक सुरक्षाकर्मी, ३७ वर्षका नेपाली नागरिक बम बहादुर गुरुङले अफगानिस्तानमा सुरक्षाकर्मीको रूपमा १० वर्ष काम गरे ।

पछि उनले काबुलस्थित बेलायती र क्यानेडेली दूतावासमा सुपरभाइजिङ गार्डको रूपमा काम गरे । उनले सन् २०२२ फेब्रुअरी १७ मा बेलायतमा स्थायी अध्यागमन स्थितिका लागि दिइएको आवेदनको कन्फर्मेसन पाए । उक्त कन्फर्मेसनमा उनको आवेदन अघि बढेको र बायोमेट्रिकका लागि प्रबन्ध मिलाउन लागिएको जानकारीसमेत दिइयो । यद्यपि, सन् २०२२ कै जुनमा उनले सरकारको ‘अफगान रिसेटलमेन्ट टिम’ बाट एउटा इमेल पाए जसमा उनलाई बेलायतबाट निष्कासन गरिएको र अफगान नागरिक पुनर्वास योजनाअन्तर्गत बेलायतमा बस्न योग्य नरहने जानकारी दिइयो ।  सन् २०२३ मार्च २७ गर्ने आन्तरिक कार्यालयले पक्राउ गरेको समूहमा गुरुङ पनि  थिए । उनलाई हिरासतमा राखियो । 

‘म पक्राउ पर्दा काममा जान तयार हुँदै थिएँ । म स्तब्ध छु । बेलायतले मलाई यतिसम्म गर्‍यो भन्ने लागिरहेको छ,’ उनले ग्याटविक विमानस्थल नजिकै रहेको ब्रुक हाउस इमिग्रेसन रिमुभल सेन्टरबाट भने । ‘मैले काबुलस्थित बेलायती दूतावासका कर्मचारीलाई धेरै वर्षसम्म जोगाएँ । हामीमध्ये कसैको पनि आपराधिक रेकर्ड छैन । मेरो सपना भनेको बेलायतमा बस्नु हो र बेलायती सेनामा सेवा पुर्‍याउनु हो ।’उनले भने, ‘केही समूहलाई आन्तरिक कार्यालयका अधिकारीले अप्रिल ११ तारिखमा जबरजस्ती सबैलाई यहाँबाट निकालिने बताएका छन् ।’

अफगानिस्तानमा काम गर्नुअघि गुरुङ नेपाली सेनामा कार्यरत थिए । उनले इराकमा पनि काम गरेका थिए । अफगानिस्तानमा उनलाई सेक्युरिटी कम्पनीले काममा लगाएको हो । उनी बेलायती र क्यानेडेली कर्मचारीसँगै दूतावासको एउटै भवनमा बस्थे । सन् २०१६ मा तालिबान आत्मघाती हमलाको आक्रमणमा परी १३ नेपालीसहित दुई भारतीय सुरक्षाकर्मी मारिएका थिए । त्यसमा उनका केही साथी पनि परेका थिए ।उनलाई गिरफ्तार गर्नुअघि उनी एक होटेलमा कार्यरत थिए जहाँ उनले तलब पाइरहेका थिए र करसमेत तिरिरहेका थिए । उनलाई मार्च महिनामा ‘इम्प्लोइ अफ द मन्थ’ को अवार्ड प्रदान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस