बारा-२ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई पराजित गर्नु पर्छ: सीके राउत

सफल खबर संवाददाता

बुधबार, १५ चैत्र २०७९, १२ : ३७
बारा-२ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई पराजित गर्नु पर्छ: सीके राउत

काठमाडौं। सत्ता गठबन्धन समर्थित दल जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार नस्वीकार्ने बताएका छन् ।

गठबन्धनको नाममा बाहिरबाट नेताहरु ल्याएर उम्मेदवार बनाउने काम स्वीकार्य नहुने उनको भनाइ छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राउतले माओवादी केन्द्र परित्याग गरेर जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुसवाहलाई उम्मेदवार बनाउने र उनैलाई जनताले जिताउने विश्वास व्यक्त गरे ।

गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका जसपा अध्यक्ष यादव सीके राउतसँग पराजित भएका थिए । अध्यक्ष राउतले ठूलो मतान्तरले पराजित भएका यादवलाई बारा क्षेत्र नम्बर २ बाट उपनिर्वाचन लडाएमा जनताको मत र स्थानीय नेता–कार्यकर्ताको अपमान हुने बताए ।

जनमत पार्टीले स्थानीय कुसवाहलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको पनि उनले बताए ।कार्यक्रममा अध्यक्ष राउतले उपराष्ट्रपति निर्वाचनमा धाँधली भएको आरोपसमेत लगाए ।

प्रमुख निर्वाचन आयुक्तले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने बताए पनि सरकारको दबावका कारण जसपाका पुरुष उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवार कायम गरेर जिताइएको उनले आरोप लगाए ।