सन्दीप विरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदै

सफल खबर संवाददाता

सोमबार, १३ चैत्र २०७९, ०८ : ३२
सन्दीप विरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदै

काठमाडाैं । क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा साेमबारदेखि अन्तिम सुनुवाई हुने भएको छ ।

‘फास्ट ट्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा साेमबारलाई अन्तिम सुनुवाईको पेशी तोकिएको हाे । शुक्रबार मात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा अदालतले हालै राहत दिनु नपर्ने गरी फैसला गरेको थियो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दा अन्तिमतिर आइसकेकाले मुद्दाको टुंगो लाग्दा नै राहत तथा क्षतिपूर्ति दिने निर्णय हुने भएकाले अन्तरिम राहत दिनु नपर्ने आदेश गरेको थियो । सन्दीपविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

तर, जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो । तर सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।