राष्ट्रपति निर्वाचनपछि एमाले र कांग्रेसको सरकार बन्न सक्छ : केपी ओली

सफल खबर संवाददाता

विहीबार, २५ फागुन २०७९, १३ : ४४
राष्ट्रपति निर्वाचनपछि एमाले र कांग्रेसको सरकार बन्न सक्छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सत्ता–गठबन्धन बनाउन सक्ने संकेत दिएका छन् । उनले राष्ट्रपति निर्वाचनपछि नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिन आज बताएका छन् ।

राष्ट्रपतिको निर्वाचनका क्रममा मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव हुने बताए । उनले आगामी राष्ट्रपति देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने हुनुपर्ने बताए ।

‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएका छैनौँ,’ उनले भने, ‘राष्ट्रपतिबाट देशको हीतको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हीत र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसाबले देशको अभिभावकको भुमिका वहन गर्नुपर्छ ।’

उनले यसअघिका दुवै राष्ट्रपतिले राम्रो काम गरेको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्वपूर्ण रुपमा काम गरेको दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस