मलेसियामा फेरि भीषण बाढी

सफल खबर संवाददाता

विहीबार, १८ फागुन २०७९, १५ : ४१
मलेसियामा फेरि भीषण बाढी

एजेन्सी। मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँशहर जलमग्न भएका छन् ।उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पुर्‍याएका छन् ।बिहीवार बिहानसम्म बाढीबाट १ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । बाढीले कार बगाउँदा उनको मृत्यु भएको हो । २६ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।  

दक्षिणी जोहोर राज्य र छिमेकी सिङ्गापुर सबैभन्दा बढी प्रभावित भएका छन् । बुधवारको अविरल वर्षाले समस्या थपिएको छ । देशका ५ राज्य बाढीको चपेटामा परेका छन् । सरकारी अधिकारीहरूका अनुसार  विद्यालय र सामुदायिक भवनमा पीडितहरूलाई सारेर राहतका कार्यक्रम सञ्चालन गरिएको छ । 

गत नोभेम्बरमा बाढीबाट पीडित भएको मलेसियामा पुनः बाढीले जनजीवन तहसनहस पारेको छ । मौसम विज्ञान विभागले आगामी एप्रिलसम्म वर्षा हुने जनाउँदै सबैलाई सचेत र सतर्क रहन आह्वान गरेको छ । जोहोर राज्यका सडक जलमग्न भएका छन् । केहीमा क्षति पनि भएको छ ।