बयान फेर्ने तीनजना विरुद्ध अख्तियारले चलायो मुद्दा

सफल खबर संवाददाता

शुक्रबार, ०५ फागुन २०७९, १२ : ५०
बयान फेर्ने तीनजना विरुद्ध अख्तियारले चलायो मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुन्धान आयोगले बयान फेर्ने तीन जनाविरुद्ध मुद्दा चलाएको छ । सरकारी साक्षीका रुपमा पेश गरिएका बद्रि आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य र रत्न प्रसाद आचार्यविरुद्ध अख्तियारले विशेष अदालतमा ८५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो । 
 
अख्तियारका अनुसार सिन्धुपाल्चोकस्थित जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका इन्जिनियरले घुस लिएकोसम्बन्धी मुद्दामा उनीहरुलाई साक्षीका रुपमा अदालतमा पेश गरिएको थियो । 

तर, इन्जिनियर भोगेन्द्र प्रसाद साहसमेतको मुद्दामा घुसवापतको रकम दिएको भनिएका बद्री  समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य र रत्न प्रसाद आचार्यले बयान फेरेका थिए । 

विशेष अदालत समक्ष वकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले  समुन्द्र र चिरञ्जिवीविरुद्ध २९ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।  यस्तै रत्न प्रसाद आचार्यले रु ८५,००० घुस रिसवत दिई भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको देखिएको भन्दै सोही बराबरको बिगो मागदाबी गरेर शुक्रबार मुद्दा दायर गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।