मलेसियाका गृहमन्त्री इजमाइल नेपाल आउने

एजेन्सी

आइतबार, १५ माघ २०७९, १४ : ३२
मलेसियाका गृहमन्त्री इजमाइल नेपाल आउने

काठमाडौं । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय टोली माघ १९ गते नेपाल भ्रमणमा आउने भएको छ ।

गृहमन्त्री इजमाइल नेतृत्वको उच्चस्तरीय टोली नेपालमा करिब १८ घण्टा बस्ने जनाइएको छ । इजमाइलको टोली माघ २० गते काठमाडौंबाट सिधै बंगलादेशका लागि प्रस्थान गर्ने कार्य तालिका तय भएको छ । मलेसियाले तत्काल ५ लाख विदेशी कामदार लैजाने भएपछि नेपालबाट उपलब्ध हुन सक्ने कामदारको अवस्था बुझ्न इजमाइलको नेतृत्वमा उच्चस्तरीय टोली नेपाल भ्रमणमा आउन लागेको हो ।

गृहमन्त्री इजमाइलले गृह मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भएको छ । भ्रमणको तयारीका लागि गृहमन्त्री इजमाइलले शुक्रबार मलेसियाका लागि नेपाली राजदूत डिल्लीप्रसाद पौडेलसँग छलफल गरेका थिए।

मलेसियाले औद्योगिक उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवा क्षेत्रमा कामदारको अभाव भएको भन्दै स्रोत देशबाट तुरुन्तै कामदार ल्याउन ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ नीति ल्याएपछि मलेसियाले स्रोत देश पुग्ने नीति बनाएको छ ।