कांग्रेसले कसैलाई प्रधानमन्त्रीको अफर गरेकाे छैन : महामन्त्री शर्मा

सफल खबर संवाददाता

शुक्रबार, २२ पुस २०७९, १९ : ३०
कांग्रेसले कसैलाई प्रधानमन्त्रीको अफर गरेकाे छैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको स्पष्ट पारेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि उनले कुनै पार्टीका सभापतिलाई प्रधानमन्त्रीको अफर नगरेको बताएका हुन् । ‘नेपाली कांग्रेस तत्काल नजाने गाउँको बाटो सोधिरहेको छैन र कसैलाई अघि लाग है भनेर पनि भनिरहेको छैन ।’ शर्माले भने । 

उनले थपे, ‘पार्टी केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ । त्यसबारेमा छलफल भयो । गठबन्धन अहिले दुर्घटनामा पर्न हुँदैनथ्यो । अन्तिम समयमा हामी पनि सहभागी हुनुपर्थ्यो । त्यसमा हामीले पनि पर्याप्त हस्तक्षेप गर्न सकेनौँ भनेर आत्मालोचित छौँ । दुर्घटना नभएर सेफ ल्याण्डिङ भए पाइलटको प्रशंसा हुन्छ । तर, दुर्घटना भयो भने कोपाइलटलाई दोष दिन मिल्दैन । महामन्त्री भनेको पार्टीको कोपाइलट हौं ।’

भोलि बस्ने संसदीय दल, प्रतिनिधि सभा र पार्टी केन्द्रीय समितिको बैठकबारे छलफल भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस