साउदी अरब पुगेर रोनाल्डोले बताए अल-नसरमा आवद्ध हुनुको कारण

एजेन्सी

बुधबार, २० पुस २०७९, १० : ४७
साउदी अरब पुगेर रोनाल्डोले बताए अल-नसरमा आवद्ध हुनुको कारण

एजेन्सी । विश्वका महान् फुटबल खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोले अल नसर फुटबल क्लबमा आवद्ध हुने निर्णयमा आफूलाई गर्व भएको बताएका छन्। रोनाल्डो मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका थिए।

उनले विश्व कीर्तिमानी मूल्यमा साउदी क्लबसँग २०२५ सम्मको सम्झौता गरेका छन्। क्लबबाट रोनाल्डोले वार्षिक १७७ मिलियन पाउन्ड बढी पारिश्रमिक लिइने जनाइएको छ। पोर्चुगिज कप्तान रोनाल्डोले म्यानचेस्टर युनाइटेड छोडेपछि फ्री एजेन्ट बनेका थिए। उनले क्लब र प्रशिक्षकका विषयमा एक अन्तरवार्ता दिएसँगै युनाइटेड त्याग्नु परेको थियो।

साउदी प्रेस एजेन्सीका अनुसार रोनाल्डोले अल नसरमा आबद्ध भएकोमा सन्तुष्टि व्यक्त गरेका छन्। उनी र उनको परिवारलाई गरेको स्वागतको पनि प्रशंसा गरे। रोनाल्डोले पत्रकार सम्मेलनमा भने, ‘जीवनमा यति ठूलो निर्णय लिएकोमा मलाई गर्व छ। युरोपमा मेरो काम सकियो। मैले धेरै जितेको छु र युरोपका टप क्लबहरूसँग खेलिसकेको छु। यो अब नयाँ चुनौती हो।’

उनले अल नसरले विश्वमा साउदी फुटबलको छवि मात्र होइन, देशको धारणा पनि परिवर्तन गर्ने पनि बताए।आफूलाई अद्वितीय खेलाडीको रुपमा व्याख्या गर्दै उनले भने, ‘म एक अद्वितीय खेलाडी हुँ। यहाँ हुनु राम्रो छ। मैले त्यहाँका सबै कीर्तिमान तोडेको छु र यहाँ पनि केही रेकर्ड तोड्न चाहन्छु। म यहाँ जित्न, खेल्न र खेलको आनन्द लिन आएको छु।‍’

रोनाल्डोले अमेरिका, अष्ट्रेलिया र ब्राजिलबाट आएका धेरै आकर्षक अफर अस्वीकार गरेको पनि बताए। अल नसर क्लबका अध्यक्ष मुसाली अल मुअम्मरले पनि रोनाल्डोलाई स्वागत गर्दै यो आफ्नो उपलब्धी भएको बताए।

रोनाल्डोको म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि उनको भविष्यका बारेमा धेरै अड्कलबाजी गरिएको थियो। यो रोनाल्डोको करिअरको सूर्यास्त हो भनेर समेत सामाजिक सञ्जालमा लेखिएको थियो।

प्रतिक्रिया दिनुहोस