अमेरिकामा देखियो कोरोनाको नयाँ भेरिएन्ट, १०४ गुणा बढी संक्रामक भएको दाबी

सफल खबर संवाददाता

मंगलबार, १९ पुस २०७९, १२ : २०
अमेरिकामा देखियो कोरोनाको नयाँ भेरिएन्ट, १०४ गुणा बढी संक्रामक भएको दाबी

एजेन्सी । अमेरिकामा कोरोनाभाइरसको नयाँ सबभेरिएन्ट एक्सबीबी-१-५ फेला परेको छ । यो निकै संक्रामक भेरिएन्ट भएको बताइएको छ । यसको संक्रमण गति पहिलेका भेरिएन्टहरूभन्दा १०४ गुणा बढी भएको बताइएको छ । 

कोरोनाका दुईवटा भेरिएन्टहरू फेरि मिसिएपछि यो सबभेरिएन्ट बनेको हो । बीजे१ र बीएम१.१.१ नाम गरेका दुई भेरिएन्टको जेनेटिक मटेरियल मिलेपछि यो एक्सबीबी भेरिएन्ट उत्पत्ति भएको हो । त्यही एक्सबीबी भेरिएन्ट म्युटेट अर्थात् रूप परिवर्तन भएपछि एक्सबीबी१ बन्यो । अनि त्यसमा जी२५०२भी म्युटेसन हुँदा एक्सबीबी.१.५ भेरिएन्ट बन्यो । 

यस भेरिएन्टले मानव शरीरको कोशिकाका प्रोटीनलाई असर गर्छ । यो भाइरसको कोशिकासँग टाँसिने क्षमता अन्य भेरिएन्टको भन्दा बढी छ । त्यसैले धेरै मानिस यसबाट संक्रमित हुने जोखिम छ । यसले छातीको माथिल्लो भागलाई बढी असर गर्ने चिकित्सकहरू बताउँछन् । तर डेल्टा जस्तो गरी यसले सिधै फोक्सोमा असर गर्दैन । 

यसले शरीरमा खोप तथा प्राकृतिक तरिकाले बनेको एन्टीबडीलाई असरहीन बनाएर संक्रमण फैलाउँछ । यो संक्रमण अहिलेसम्मका भेरिएन्टको तुलनामा १०४ गुणा छिटो फैलिन्छ । यसबाट बच्ने खोप वा इम्युनिटी अहिलेसम्म तयार भएको छैन । 

संसारमा अहिलेसम्म बनेका खोपहरूसँग यस भेरिएन्टबाट बचाउने क्षमता ३० देखि ४० प्रतिशत मात्र छ । धेरैजसो खोप कोरोनाको अल्फा भेरिएन्टबाट बचाउनका लागि बनाइएका थिए । तर कोरोनाले आफ्नो रूप कैयौंपटक बदलिसकेको छ । केही खोपहरू बी.ए.५ सबभेरिएन्टबाट बच्नका लागि बनाइएको हो । तर नयाँ नयाँ भेरिएन्ट आइरहेकाले खोपको सुरक्षा क्षमता घट्दो छ ।

प्रतिक्रिया दिनुहोस