अर्को वर्षदेखि जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण

सफल खबर संवाददाता

आइतबार, १७ पुस २०७९, १० : १४
अर्को वर्षदेखि जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण

जाजरकोट । जगदुल्ला जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माणमा सुरु हुने भएको छ । आयोजनाले मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र विद्युत् खरिद बिक्री सम्झौता ९पिपिए०को काम पनि अन्तिम चरणमा पुगेछ । आयोजनाका व्यवस्थापक सञ्जय सापकोटाले अर्को वर्षदेखि निर्माण सुरु गर्ने बताए ।

२५२ रोपनी जग्गा अधिग्रहणदेखि डिपिआर सम्पन्न भइसकेको सापकोटाले बताए । अर्धजलाशयुक्त आयोजना स्वदेशी लगानीबाट निर्माण गर्ने भनिएको छ । आयोजनाको विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौताका लागि फाइल पुगेको आयोजना प्रमुख सापकोटाले बताए ।


विद्युत् उत्पादनगृह रहेको इलमा सडक लैजानका लागि त्रिवेणीबाट काम सुरु भएको र विद्युत् उत्पादनगृहलगायतका ठाउँमा पूर्वाधारका काम भइरहेको उनले बताए ।त्यस्तै आयोजना निर्माण गर्न एक वर्षभित्र ठेकेदार र परामर्शदाता छनोटको काम सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । निर्माण सुरु भएको पाँच वर्षभित्र विद्युत् उत्पादन हुने आयोजना प्रमुख सापकोटाले दाबी गरे ।

जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर अग्लो ड्याम निर्माण गरेर ६।१ किलोमिटर सुरुङमार्फत मुड्केचुला गाउँपालिका–४ इलमा पानी खसालेर विद्युत् एक सय छ मेगावाट विद्युत् उत्पादन हुने छ । आयोजना निर्माण गर्न विभिन्न निकायले सेयर लगानी गर्ने बताएको छ । सेयर लगानीकर्तामा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत रहेको छ ।

त्यस्तै कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको एक प्रतिशत सेयर रहेको छ । बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि भन्दै सबैका लागि खुला गरिने बताइएको छ । २० अर्ब लगानीमा निर्माण हुने आयोजनाबाट दैनिक एक करोड २० लाख आम्दानी हुने कम्पनीले जनाएको छ ।

आयोजना निर्माणपछि राज्यलाई वार्षिक झण्डै २९ करोड राजस्व उपलब्ध हुने बताइएको छ । विसं २०७४ जेठ १६ गते कम्पनी स्थापना गरिएको थियो । प्रदेश सरकारले ११ लाख ७१ हजार पाँच सय कित्ता सेयर खरिद गरेवापत ११ करोड ७१ लाख ५० हजार रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई अघिल्लो वर्ष भुक्तानी गरिसकेको छ । यही ठाउँमा ८३ मेगावाटको अर्को जलविद्युत् आयोजना निर्माण गर्न अहिले सम्भाव्यता अध्ययनको कामसमेत सुरु भएको छ ।