समानुपातिकको विवरण सच्याउन आज ४ बजेसम्मको समय

सफल खबर संवाददाता

सोमबार, २६ मंसिर २०७९, ०७ : ५४
समानुपातिकको विवरण सच्याउन आज ४ बजेसम्मको समय

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउन दलहरूलाई सोमबार अपराह्न ४ बजेसम्मको समय दिएको छ । आयोगले त्रुटि गरेर समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटि सच्याएर पुनः विवरण पठाउनका लागि समय दिएको हो । 

यस सम्बन्धमा जानकारी दिँदै निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभाअन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताए ।

केही राजनीतिक दलहरुले प्रदेश सभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएकाले सो विवरण सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरिएको उनले जानकारी दिए । उनले आयोगले दलहरुबाट त्रुटि सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरुलाई निर्वाचित भएको घोषणा गर्ने र प्रमाणपत्र वितरण गर्ने जानकारी दिए । 

वाग्लेले १४ वटा राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणाली तर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिवार नै बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली पेश गरेको बताए ।

प्रतिक्रिया दिनुहोस