मधेश प्रदेशमा कसको सरकार ?

पत्रपत्रिकाबाट

मंगलबार, १३ मंसिर २०७९, ०८ : ४९
मधेश प्रदेशमा कसको सरकार ?

काठमाडौं । मधेस प्रदेशमा ‘कुन पार्टीको सरकार बन्ने ?’ भन्ने चर्चा चुलीमा पुग्दै गर्दा सार्वजनिक मतपरिणामअनुसार ‘कुनै एक दलको बहुमत नपुगेकाले यहाँ एमाले वा कांगे्रस’मध्ये एकको गठबन्धनमा सरकार बन्ने सम्भावना बढेको छ । कुनै दुई दल मिल्दासमेत मधेस प्रदेशमा सरकार बन्ने अवस्था देखिँदै छ ।

मधेस प्रदेशमा सरकार निर्माणका लागि डा. सिके राउत नेतृत्वको जनमत पार्टी, पूर्वमन्त्री एवं नवनिर्वाचित सांसद प्रभु साह र स्वतन्त्रलगायतको भूमिका निर्णायक हुने देखिन्छ । १ सय ७ सदस्यीय मधेस प्रदेशसभामा ६४ प्रत्यक्ष र ४३ समानुपातिक सिट छन् । सरकार बनाउन ५४ सिट आवश्यक पर्छ ।

प्रत्यक्षतर्फको सार्वजनिक मतपरिणामअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) १४, नेपाली कांग्रेसले १३, जनता समाजवादी पार्टी नेपाल (जसपा) ९, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ७, जनमत पार्टी ६, स्वतन्त्र ६, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ४ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले ४ सिटमा विजयी भएका छन् ।

मधेस प्रदेश प्रत्यक्षतर्फको ६४ मध्ये ६३ सिट मतपरिणाम सार्वजनिक भइसकेको छ । १ मात्रै बाँकी रहेको धनुषा ४ को २ मा एमाले हरिनारायण महतो ९ हजार ६ सय २२ मतसहित अगाडि छन् । एकीकृत समाजवादी स्थायी कमिटी सदस्य एवं मधेस प्रदेशका वनमन्त्री शत्रुधन महतो ७ हजार ५ सय ६९ मतसहित उनलाई पछ्याइरहेका छन् ।संघीय निर्वाचनजस्तै मधेस प्रदेशमा एमाले र जसपाको एक गठबन्धन र अर्कोतर्फ सत्तारूढ पाँच दलीय गठबन्धन थियो । यद्यपि, केही ठाउँमा दुवै गठबन्धनभित्र समेत मित्रवत् प्रतिस्पर्धा भएको थियो । प्रत्यक्षतर्फ दुवै गठबन्धन बहुमत ल्याउन असफल भएका छन् ।

समानुपातिकतर्फ कांग्रेसले ३ लाख ४९ हजार ५ सय १८ मतसहित पहिलो, एमाले ३ लाख १२ हजार ३ सय २४ मतसहित दोस्रो र जसपा २ लाख ५३ हजार ८ सय ३८ मतसहित तेस्रो स्थानमा रहेको छ । जनमत पार्टी २ लाख ५१ हजार २ सय ४१ मतसहित चौथौ र माओवादी केन्द्र १ लाख ६० हजार ८ सय ११ पाँचौं स्थानमा छ । यसैगरी, क्रमशः एकीकृत समाजवादीले ९७ हजार ८ सय ३६, लोसपाले ९१ हजार ३ सय ८९, राप्रपाले ५९ हजार १ सय २०, नेपाल संघीय समाजवादी पार्टीले ४६ हजार ९ सय ४४ र नागरिक उन्मुक्ति पार्टी ४० हजार २ सय ५ मत ल्याएका छन् ।

मुख्यमन्त्री गुमाउँदै मधेसवादी
२०७४ को निर्वाचनमा तत्कालीन समाजवादी र राजपा मिलेर निर्वाचन लडेका थिए । पछि, पार्टी एकता नै गरी जसपा भयो । गत निर्वाचनमा राम्रो परिणाम ल्याएको त्यही जसपा विभाजन भएर दुई समूहमा विभाजित छ ।

जसपा नेतृत्व उपेन्द्र यादव र लोसपा महन्थ ठाकुरले नेतृत्व गरिरहेका छन् । मधेस प्रदेश मुख्यमन्त्री लालबाबु राउत पूरै कार्यकाल सत्तामा रहे । सुरुमा राजपाको सहयोगमा र पछि जसपा विभाजन भएपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादीको सहयोगमा मुख्यमन्त्रीमा रहिरहे । पछिल्लो समय जसपा एमाले नेतृत्वको गठबन्धनमा सहभागीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले जसपा र प्रदेशमा मुख्मन्त्री राउतले कांग्रेसका मन्त्रीलाई हटाए । जसपाले सरकारको नेतृत्व गरे पनि अहिले नेतृत्व गर्न सक्ने अवस्था छैन ।

२०७४ को निर्वाचनबाट समाजवादी र राजपा क्रमशः ठूलो दल बनेको थियो । तर, अहिले कांग्रेस र एमालेले उनीहरूको स्थान लिएको छ । यदि सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बनाउने अवस्था आए कांग्रेस वा एमालेले नै गर्ने मतपरिणामले देखाउँछ ।राजधानी दैनिकमा खबर छ ।