मनकामना केबलकार २५ औं वर्षमा प्रवेश, अझ उच्चस्तरिय सेवा दिने प्रण

४८ करोडको लागतमा अत्याधुनिक रिर्सोट संचालनमा ल्याउने तयारी

सफल खबर संवाददाता

बुधबार, ०७ मंसिर २०७९, ११ : ४४
मनकामना केबलकार २५ औं वर्षमा प्रवेश,  अझ उच्चस्तरिय सेवा दिने प्रण

चितवन । नेपालकै पहिलो मनकामना केवुलकारको संचालन २४ औं वर्ष पार गरी २५ औं वर्षमा सफलतापूर्वक प्रवेश गरेको छ ।

यही मंसिर ८ गतेदेखि २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको हो। मंसिर ८, २०५५ सालबाट नियमित सञ्चालनमा आएको केबलकारले हालसम्म करीव १ करोड ६० लाख यात्रु तथा भक्तजनहरूलाई सेवा प्रदान गरिसकेको जनाएको छ। सञ्चालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तब्य बनेको छ।

यस्तै  राष्ट्रिय कर दिवसका अवसरमा  केबुलकारले २०७७ /७९ सम्म पर्यटन ब्यवसायतर्फ सबै भन्दा बढि आयकर तिरेर आन्तरिक राजश्व विभागबाट सम्मान पाएको छ ।

नेपालमा पहिलो केबलकार सेवा सञ्चालनमा ल्याउने कम्पनी मनकामना दर्शन प्रालि हस्पिटालिटीको अर्को परियोजना  सञ्चालनको तयारीमा छ। मनकामना दर्शनको भगिनी कम्पनी रिसोर्ट्स बाइ मनकामना केबलकारले हाइ इण्ड रिसोर्ट सञ्चालनमा ल्याउने भएको हो। ४० कोठा क्षमताको रिसोर्टका लागि कम्पनीले केबलकारको गोरखास्थित टप स्टेसनमा जग्गा छनोट गरेको छ। हालसम्मको डिजाइनका आधारमा लागत ४८ करोड रुपैयाँसम्म हुने अनुमान गरिएको कम्पनी सञ्चालक राजेशबाबु श्रेष्ठले बताए।

कन्स्ट्रक्सनको काम हामी चालु वर्षभित्रै थाल्ने योजनामा छौं, उनले भने, 'यो देशको पर्यटन प्रवर्द्धनलाई सघाउने नै प्रोजेक्ट हो। नौ रोपनी क्षेत्रफलमा रहने रिसोर्टले केबलकारबाट मनकामना पुग्ने पाहुनेलाई आतिथ्य गर्नेछ।' कन्स्ट्रक्सन थाल्न हामी होमवर्क गरिरहेका छौं। बाँकी केही प्रक्रिया सकिएलगत्तै काम सुरु हुनेछ, सञ्चालक श्रेष्ठले भने, मनकामना क्षेत्रको धार्मिक एवं पर्यटकीय प्रवर्द्धन गर्ने उद्देश्यले रिसोर्ट संचालनमा ल्याउन लागिएको हो। रिसोर्ट संचालनमा आएसँगै स्थानीयस्तरमा रोजगारी बढ्ने र स्तरीय पर्यटकको आवागमनमा वृद्धि हुने उनको विश्वास लिएका छौं। रिसोर्ट निर्माण सुरु भएको डेढ वर्षमा तयार भएर संचालनमा ल्याउने योजना रहेको उनले जानकारी दिए।

काठमाडौंसँगै मुलुकका प्रमुख सहरहरुबाट सप्ताहान्तमा सपरिवार घुम्न निस्कने, भारतीय पर्यटकको धार्मिकस्थल आवागमन आदिलाई ध्यानमा राख्दै मनकामना दर्शनले रिसोर्ट पनि सञ्चालनमा ल्याउने भएको हो। उनका अनुसनर रिसोर्टमा स्ट्याण्डर्ड रेष्टुरेण्ट, एक सय जना क्षमताको कन्फ्रेन्स हल लगायतका सुविधा हुनेछ। मनकामना दर्शनले केबलकार सेवा सञ्चालन गरेको २४ वर्ष पुरा भएको छ। कम्पनी स्थापनाको २५ औं वर्ष पुगेकोमा रिसोर्टको नयाँ प्रोजेक्ट पनि थपिएको सञ्चालक श्रेष्ठले बताए। केबलकार डिजिटल प्रणालीबाट संचालन  संस्थापक स्व। लक्ष्मणबाबु श्रेष्ठको नेतृत्वमा कम्पनीले २०५५ मंसिर ८ गतेबाट मनकामना केबुलकार सेवा संचालनमा ल्याएको हो। यसले  अष्ट्रियाको डोपलमेयर कम्पनीको केबलकार प्रविधि प्रयोग गरेको छ।

केबलकारले ३ किलोमिटरको दुरीलाई १० मिनेटमा आउजाउ गराउँदै आएको छ। कम्पनीले स्थापनादेखि २४ वर्षको अवधिमा १ करोड ७० लाख यात्रु एवम् भक्तजनलाई सेवा दिएको जनाएको छ। संस्थापक स्व। लक्ष्मणबाबुको मार्गनिर्देशन अनुसार कम्पनीले व्यवसायिक सामाजिक दायित्वअन्तर्गत केबलकार रहेको क्षेत्रको शिक्षा, स्वास्थ्य, धार्मिक र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको सञ्चालक राजेशबाबु श्रेष्ठले बताए। केबलकार सुरुमा एनालग प्रविधिमार्फत सञ्चालनमा थियो। स्तरोन्नति गर्दै वार्षिकोत्सवका अवसरमा पूर्ण डिजिटल प्रणालीमार्फत सञ्चालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिए। कम्पनीले प्रयोग गर्दै आएको डोपलमेयरको डीकनेक्ट प्रणाली जडानको काम अन्तिम चरणमा रहेको जनाइएको छ।यो सुरु भएसँगै मनकामना मुलुककै पहिलो डिजिटल प्रणालीयुक्त केबलकार सेवा प्रदायक बन्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस