विगतमा दुईपटक जितेको हो, यसपटक पनि जित्छु, मतदाता खुसी हुनुहुन्छ : पम्फा भुसाल

सफल खबर संवाददाता

आइतबार, २७ कार्तिक २०७९, ११ : १७
विगतमा दुईपटक जितेको हो, यसपटक पनि जित्छु, मतदाता खुसी हुनुहुन्छ : पम्फा भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधिसभाको निर्वाचमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताएकी छन्।

आइतबार ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।मन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट आफू यसअघि पनि दुई पटक विजयी भइसकेको उल्लेख गर्दै यस पटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताइन्।

उनले भनिन्, ‘मैले यो क्षेत्रमा राम्रा कामहरू गरेको छु, जनतालाई नराम्रो लाग्ने कुनै काम पनि गरेको छैन। यसभन्दा अगाडि पनि दुई पटकसम्म जितिसकेको हो, त्यस्तो डर मलाई छैन। जनताले, मतदाताले धेरै राम्रो प्रतिक्रिया दिनुभएको छ, विगतमाझैँ यस पटक पनि आम मतदाताहरू खुसी हुनुहुन्छ। सबैको साथ र सहयोग मलाई प्राप्त छ। गठबन्धन र विशेष गरेर यही क्षेत्रको नागरिक भएकाले जनताले हामीलाई धेरै मन पराउनुभएको छ।’

आसन्न निर्वाचनलाई लक्षित गरी विभिन्न क्षेत्रका प्रतिनिधि र प्रदेशसभा उम्मेदवारहरूले आफ्नो प्रचारप्रसारका लागि यतिबेला घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्।आम मतदाताको घरमा पुगेर उम्मेदवारहरू आफूलाई भोट माग्न लागिपरेका छन्।

प्रतिक्रिया दिनुहोस