'ओली व्यवस्था मास्न राजावादी र विखण्डनकारी बोकेर हिंडेका छन्' : पुन

सफल खबर संवाददाता

शनिबार, २६ कार्तिक २०७९, १२ : ०६
'ओली व्यवस्था मास्न राजावादी र विखण्डनकारी बोकेर हिंडेका छन्' : पुन

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले केपी ओली अझै संविधान, लोकतन्त्र र व्यवस्था मास्ने अभियानमा सक्रिय रहेको बताएका छन् ।  ओलीले राजावादी र विखण्डनकारीहरुको अपवित्र गठबन्धन बोकेर चुनावमा भोट माग्दै हिंडेको आरोप पुनले लगाए । आफूहरुले विगतमा ओलीबारे गर्दै आएको टिप्पणी उनको चुनावी गठबन्धनमा रहेका दल र व्यक्तिहरुका अनुहार र चरित्रबाट प्रष्ट भएको पुनको भनाइ थियो ।

‘आज फेरि प्रतिगामी सोच राख्नेहरु, संविधानमाथि पटकपटक प्रहार गर्नेहरु चुनावी गठबन्धनका नाममा जुर्मुराई रहेका छन् । लोकतान्त्रिक वाम गठबन्धनविरुद्ध अपवित्र खालको गठबन्धन बनेको छ’, गृहजिल्ला रोल्पाको सुलैचौधरमा लोकतान्त्रिक वाम गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुनले भने, ‘पटकपटक संविधान च्यात्नेहरु,  प्रतिगमनको प्रयास गर्ने, लोकतन्त्रमाथि चुनौती खडा गर्नेहरु, हिजोका राजावादीहरु, मधेसलाई अलग राज्य बनाउन चाहनेहरु, विभिन्न खाले विखण्डनवादी र साम्प्रदायिक सोच राख्ने शक्ति तथा व्यक्तिहरुको प्रतिगामी मोर्चा जनताविरुद्ध खडा गरिएको छ ।

हामी मंसिर ४ मा यसलाई परास्त गर्नैछौं ।’ पुनले केपी ओलीले जनताले स्थायित्व र विकासका लागि ०७४ को निर्वाचनमा दिएको जनमतमाथि अपमान गर्दै दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेपछि त्यसको प्रतिवादका लागि गठवन्धन निर्माण गरेको बताए । राज्यका सबै संयन्त्र आफ्नो नियन्त्रणमा लिने तथा संविधान र व्यवस्थामाथि हमला गरेर ओलीले निर्वाचित तानाशाह बन्न खोजेपछि उनलाई रोक्न गठबन्धन निर्माण गरिएको चर्चा पुनले गरे । ‘देशमा प्रतिगमन भयो । दुईपटक संसद विघटन गरियो । लोकतन्माथि प्रहार भयो । संविधान च्यात्ने काम भयो । नेपाल जनताका आकांक्षामाथि प्रहार गर्ने काम भयो । त्यसलाई बचाउने क्रममा हामीले लोकतापन्त्रिक–वाम गठबन्धन बनायौं । सडकबाट, अदालतबाट, विभिन्न मोर्चाहरुबाट हामीले प्रतिवाद गरेर संविधान र लोकतन्त्रको रक्षा ग¥यौं । यो सडकबाट निर्माण  गरेको गठबन्धन हो । राजनीतिक आधारमा निर्माण गरेको गठबन्धन हो । लोकतन्त्रको रक्षाको लागि राजनीतिक स्थायित्वको लागि बनाइएको गठबन्धन हो’, उनले भने । 

स्थानीय निर्वाचनमा गरिएको गठबन्धनले देशैभर राम्रो परिणाम आएको र त्यसले धेरै हदसम्म प्रतिगमनलाई कमजोर बनाउने काम गरेको भन्दै यसपटककको चुनावीले प्रतिगमनले घुँडा टेक्ने बताए । प्रतिगामविरुद्ध आफूहरुले निर्माण गरेको गठबन्धन राजनीतिक गठबन्धन भएको उनको भनाइ थियो । उनले  निर्वाचन जितेर केही मानिस प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री बन्नका लागि नभई व्यवस्था बचाउन तथा बलियो सरका निर्माण गरी मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न आफूहरुले गठबन्धन बनाएको तर्क गरे । पुनले निर्वाचनपछि संघ तथा सातवटै प्रशदेशमा पाँच वर्षसम्म वर्तमान सत्ता गठबन्धनले स्थायित्वसहितहको सरकार निर्माण गरेर जनताको विकासको चाहना पुरा गर्न काम गर्ने प्रतिबद्धता जनाए । उनले आफूहरुले चुनाव जितेपछि संसद विघटन नगर्ने प्रतिबद्धता पनि जनाए । केपी ओलीले जसरी भ्रष्टाचारीको मुख हेर्दिन भन्ने तर, भ्रष्टाचारीलाई काखमा राख्ने काम आफूहरुबाट नहुने उनले बताए । 

ओलीले लोकतन्त्रका नाममा सम्पूर्ण राज्य संयन्त्र कब्जा गरेर सबैलाई आतंकित बनाउने काम गरेको आरोप लगाए । ‘लोकतन्त्रमा बोल्न नपाउने, व्यापार गर्न नपाउने, स्वतन्त्र धारणा राख्न र आफ्नो वृत्ति विकास गर्न नपाउने अवस्था ल्याउन खोजिएको थियो’, उनले भने, ‘पार्टीमा नभएका मानिसले पनि स्वतन्त्र जीवन बिताउन पाउनुपर्छ । प्रशासन र सुरक्षा निकायमा स्वतन्त्र प्रतिस्पर्धा गरेर उसले आफ्नो वृत्ति विकास गर्न पाउनुपर्छ ।

प्रधानमन्त्री तथा सत्तारुढ दलको विरोध गर्नै नपाउने, व्यापार गर्न सत्तारुढ दलको सदस्य हुनैपर्ने, जागिर खान, सरुवा हुन राष्ट सेवा गर्न सत्तारुढ दलको सदस्यता लिनैपर्ने अवस्था हामी अन्त्य गर्छौं । यो लोकतन्त्र हो । हामी सबै जनताले लडेर ल्याएको व्यवस्था हो । मुठ्ठीभर मान्छेहरुले जनताका नामा शासन गर्ने र निर्वाचित तानाशाही प्रवृत्तिलाई टाउको उठाउन दिनेछैनौं ।’ उनले पछि परेका जनसमुदायलई राज्यको मुलप्रवपाहमा ल्याउने, कानूनका नजरमा कोही पनि नागरिक उचनिच नहुने व्यवस्था गणतन्त्रका कारण भएको उल्लेख गेर । सबैले बराबर अधिकारसहित बाँच्न पाउने व्यवस्थाविरुद्ध लागेकाहरुलाई मत नदिन पुनले मतदातालाई अपिल गरे ।  पुनले दुई छिमेकी भारत र चीन तथा पश्चिमा मित्र राष्ट्र तथा विकास साझेदार मुलुकहरुसँग समानताका आधारमा मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने गठबन्धनको साझा नीति रहेको चर्चा पनि गरे ।

‘हामी कहिले उत्तरतिर, कहिले दणिणतिर, कहिले पश्चिमतिर ढल्किने गरेको बिरासतबाट माथि उठेर सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अपनाउने छौं । कुनै कोही पनि सैन्य गठबन्धनमा बस्ने छौनौं । तर, विकास, व्यापार र अवसरका लागि सबै मित्रहरुसँग सहयोग लिनेछौं । यसमा हामी गठबन्धनमा भएका दलहरुका बीचमा समानता छ’, उनले भने । पुनले चुनाव आउन १० दिन बाँकी छँदा गठबन्धनका पक्षमा देशभर उभार आएकाले दुई तिहाई बहुमत गठबन्धनले प्राप्त गर्ने आधार देखिएको दाबी गरे । संघीय सरकार र सातै प्रदेश सरकार गठबन्धनको हुने भन्दै उनले कम्तिमा पाँच वर्ष राजनीतिक स्थायित्व, सुशासन र समृद्धिका लागि गठबन्धनले काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस