मैले उठाएका मुद्दाहरू र मेरो व्यवहारका कारण चुनाव जित्ने माहोल बनेको छ : प्रदीप पौडेल

सफल खबर संवाददाता

सोमबार, २१ कार्तिक २०७९, १२ : ३१
मैले उठाएका मुद्दाहरू र मेरो व्यवहारका कारण चुनाव जित्ने माहोल बनेको छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा उम्मेदवार बनेसँगै अहिले घरदैलोमा व्यस्त छन् । पौडेललाई पाँच दलीय गठबन्धनको सहयोग छ । यो क्षेत्रमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार छन् । सो क्षेत्रमा विशेषगरी पोखरेल र पौडेलबीच प्रतिस्र्धा हुने देखिएको छ ।  स्वतन्त्र रुपमा रञ्जु दर्शनाले पनि उम्मेदवारी दिएसँगै प्रतिस्पर्धा थप रोचक हुने देखिएका बेला गठबन्धनको साझा उम्मेदवार तथा कांग्रेस नेता पौडेललाई चुनावी तयारीलगायतका विषयमा कुराकानी गरेका छौँ । 

घरदैलोमा मतदाताको कस्तो प्रतिकृया पाउनु भएको छ ?

मतदाता  नेताहरूले  भोट मागेर फर्किएपछि फेरि जनतामा फर्किदैनन् भन्ने पुरानो प्रवत्तिबाट झस्किएका छन् । तर, म अहिले काठमाडौँ ५ बाट उम्मेदवारका रुपमा आएसँगै जनतामा युवा उम्मेदवार देखेर उत्साह र यसले केही गर्न सक्छ भन्ने आशा जागेको देखेको छु । यसअघि पटक पटक जनताले चोट खाए काठमाडौँ ५ का जनताले, तर यसपटक मैले जनातको त्यो आशंकालाई पूर्ण रुपमा निवारण गर्नेछु । 

कुरा गर्ने, तर काम नगर्ने त आम प्रवृत्तिजस्तो भइसक्यो, तपाईंको पनि के विश्वास ?

म एक्कासि राजनीतिमा आएको व्यक्ति होइन । मेरो लामो पृष्ठभूमि छ । म विद्यार्थी राजनीति हुँदै केन्द्रदेखि अहिले काठमाडौँ ५ को उम्मेदवारका रुपमा रहेको छु । यसपटक चोटिलो प्रहार गर्नका लागि मैले उठाएका विषयहरू धारिला छन् । मैले उठाएका मुद्दाहरू, मेरो व्यवहार र सम्बन्धहरूका कारण मैले चुनाव जित्ने माहोल बनेको छ । 

‘ब्रेन ड्रेन’ को समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ, कसरी गनुहुन्छ ?

हाम्रो देशमा ब्रेनड्रेनको समस्या बढ्दो छ। एउटा देश जो बौद्धिक नागरिकलाई जोगाएर राख्न सक्दैन भने त्यो देशको विकास कताबाट हुन्छ ?   सबै कुरा आयात गरेर मात्रै देश समृद्ध हुन सक्दैन । मैले यसअघि नै बिसिडी मोडल तयार गरेर ब्रेन ड्रेनको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छु । त्यसलाई म प्राथमिकताका साथ राखेर काम गर्छु ।

गरिबी, विदेश पलायन र शिक्षा क्षेत्रलाई यहाँले कसरी हेर्नुभएको छ ? 

गरिबी निवारण अत्यावश्यक छ । देशमा रोजगारीको सृजना गर्दै उद्योग, कलकारखाना खोल्ने वातारण बनाउनुपर्छ र त्यसको संख्या बढाउँदै लैजानुपर्छ । वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई आफूले निराकरण गर्न देशमै रोजगारीको चाहिन्छ नै  । मैले काठमाडौं ५ मा मात्र नभई समग्र जिल्लामा रहेका विद्यालयलाई बुढानीलकण्ठस्तरको बनाउने मेरो पहल रहन्छ । 

प्रतिस्पर्धामा पटकपटक मन्त्री भइसकेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, रञ्जु दर्शनाजस्ता उम्मेदवार छन् नि ? 
को कति पटक के भयो भन्ने कुराभन्दा पनि कसले के ग-यो भन्ने कुरा महत्वपूर्ण हो । पटक पटक मन्त्री भएर देशलाई के लाभ भयो भन्ने कुराको हेक्का जनताले राखेका छन् । पोजिसन के छ भन्ने कुराभन्दा पनि पोजिसनमा बसेर के गरेको भन्ने कुरा नै मुख्य हो । 

ईश्वरको मत रञ्जुले काट्छिन् अनि मैले चुनाव जित्छु भन्ने लागेको छ यहाँलाई  ? 

कसले कसको मत काट्छ भन्ने कुरा नै होइन । जनताले विवेकले मत दिने कुरा हो । मत विचारको, व्यवहार र विश्वासको कुरा हो । हाम्रो व्यवहार र विश्वासको आधारमा हामी अगाडि छौँ भन्ने लाग्छ । 

अरू उम्मेदवारहरूभन्दा तपाईं कसरी फरक हुनुहुन्छ ?  

अरुहरूले पटक पटक धोका दिए यस क्षेत्रमा । तर, म चुनाव जितेपछि  पनि जनताकै काखमा बस्ने मान्छे हुँ । बोलेको कुरालाई पूरा गरेर देखाउँछु । 

कति मतले चुनाव जित्छु भन्ने लागेको छ ?  

अहिले निकै राम्रो वातावरण बनेको छ । जित्ने वातावरणकाबीच आमजनताले युवा र बोलेको कुरा पूरा गर्न सक्ने नेतालाई साथ दिनुहुन्छ भन्ने घर दैलो अभियानमा मैले बुझेको छु ।

प्रतिक्रिया दिनुहोस