काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान सत्ता गठबन्धन कम्तिमा पाँच वर्षसम्म कायम रहने बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले ओलीतन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको बताए ।
०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपीको घमण्ड र अहंकारका कारण पाँच वर्ष खेर गएको उनको भनाइ थियो । उनले निरंकुश चरित्रका ओलीमा आफैं सर्वेसर्वा भएको मात चढेको र पार्टीभित्र विरोध भएपछि दुईपटकसम्म संसद विघटन गरेको टिप्पणी गरे ।
‘पाँच वर्ष एक ढंगले खेर गयो । हामीले समयको सदुपयोग गर्न सकेनौँ । अघि हिँड्ने मानिस सही ढंगले हिँडेन र बाटो बिरायो भने अरुले दुःख पाउँछ । अघि हिँड्नेले घमण्ड गर्दा अरुले दुःख पाए । सरकार भनेको देशको अभिभावक हो । प्रधानमन्त्री र सरकार चलाउने दलको अध्यक्षका हैसियतमा केपी ओलीले मति बिगार्नुभयो । उहाँमा निरंकुशता र व्यक्तिवादको भूत सवार भयो । म एक्लैले दुनियाँ थामेको छु जस्तो गर्न थाल्नुभयो ।’
पुनले ओलीले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको पनि बताए । राज्यशक्ति र स्रोतलाई एकीकृत गरेको आरोप उनले लगाए ।
ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको पनि पुनको आरोप थियो । न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा हस्तक्षेप गरेको आरोप पुनको छ । पार्टीभित्रको अन्तरसंघर्षलाई देखाएर ओलीले दुईपटक संसद विघटन गरेको पुनको भनाइ छ ।
निरंकुशतालाई रोक्न र प्रतिगमन सच्याउनका लागि गठबन्धन निर्माण भएको पुनले उल्लेख गरे । जनताको अधिकार संरक्षण र संविधानको रक्षाका गठबन्धन बनेको भन्दै पुनले गठबन्धन पाँच वर्षपछिसम्म जान सक्ने आधार रहेको उल्लेख गरे ।
राजनीतिक व्यवस्था परिवर्तनपछि अब मुलुकको आर्थिक अवस्था परिवर्तनको समय आएको बताए । पुनले विगतमा भन्दा विकासका काममा गति आइरहेको पनि बताए । एकात्मक राज्य व्यवस्थाको अन्त्यसँगै स्थानीय तहसमेत अधिकार सम्पन्न भएकाले समन्यायिक विकासको अवधारणा अघि बढेको नेता पुनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० कार्तिक २०७९, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन
सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः नेकपा नेता पुन
नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने
‘नेकपा धुलो टक्टकाएर फेरि उठ्छ’ : वर्षमान पुन
वर्षमान पुन १५ हजार बढी मतान्तरसहित निर्वाचित
धाँधलीरहित चुनाव भए नेकपा पहिलो दल बन्ने वर्षमान पुनको दाबी