चिसो मुस्ताङमा चुनावी सरगर्मी बढ्यो

सफल खबर संवाददाता

बुधबार, १६ कार्तिक २०७९, १५ : ०८
चिसो मुस्ताङमा चुनावी सरगर्मी बढ्यो

मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङमा यतिखेर चुनावी सरगर्मी बढेको छ । मङ्सिर ४ को निर्वाचनलाई आफ्नो पक्षमा पार्न यतिखेर राजनीतिक दल र उम्मेदवारको सक्रियता बढेको छ ।  एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभा (क) र (ख) समेतमा गरी आसन्न निर्वाचनमा नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट कांग्रेसका योगेश गौचन थकाली, नेकपा (एमाले) तर्फबाट प्रेमप्रसाद तुलाचन, स्वतन्त्र पार्टी नेपालका सुरेश गुरुङ र राप्रपाका प्रवीण शेरचन प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका छन् ।

मुस्ताङमा दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाले मनोनयपत्र दर्ता गराएकामा चार जनाले उम्मेदवारी फिर्ता गरेका थिए ।  प्रदेशतर्फ एमालेबाट क्षेत्र इन्द्रधारा विष्ट र चन्द्रमोहन गौचन, सत्ता गठबन्धनबाट विकल शेरचन र नाम्डु गुरुङ, राप्रपाबाट जेम्स हिराचन र राप्रपा नेपालबाट कर्मा डोल्कर गुरुङ उम्मेदवार रहेका छन् । 

त्यस्तै प्रतिनिधिसभामा स्वतन्त्रबाट डा.सुरेन्द्र शेरचन र सुरज लालचन र मानबहादुर विकको उम्मेदवारी परेकोमा सबैले फिर्ता लिएका छन् । प्रदेशसभातर्फ उम्मेदवारी दिएका जेमी हिराचनको पनि उम्मेदवारी फिर्ता भएको छ । प्रदेशतर्फ भने कुनै पनि स्वतन्त्र उम्मेदवारी परेको छैन । 

चुनावी गतिविधि बढ्दै गर्दा पर्यटकीयस्थल मुस्ताङमा यतिखेर उम्मेदवार यहाँको पर्यटकीय विकाससँगै सडक, खानेपानीलगायतका पूर्वाधारको व्यवस्थापन गर्ने प्रतिबद्धतासहित घरदैलोमा पुगेका छन् । पर्यटकीय मौसम भएका कारण यता उम्मेदवारलाई मतदाता भेट्न भ्याइनभ्याइ छ भने आन्तरिक तथा बाह्य पर्यटकको आगमनले यहाँको चहलपहल बढाएको छ ।

लामो समय कोरोना कहरका कारण थलिएको यहाँको पर्यटन विस्तारै फस्टाउँदैछ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम चेकपोष्टको तथ्याङ्ले चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा मुस्ताङमा सडकमार्ग र हवाईमार्ग हुँदै नौ हजार बढी विदेशी पर्यटक भित्रिएको देखाउँछ । जसमध्ये लगभग ७५ प्रतिशत पर्यटक सार्क मुलुकका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १० हजार चार सय ८५ मतदाता रहेको यस जिल्लामा सात हजार पाँच सय ५७ मत खसेको थियो । अध्यक्ष पदमा एमालेले चार हजार एक सय २६ मत पाएको थियो भने कांग्रेससहितको गठबन्धनले तीन हजार ९१ मत पाएको थियो । अध्यक्ष पदमा कांग्रेससहितको गठबन्धनभन्दा एमालेले पाएको मत एक हजार ३५ ले बढी छ भने उपाध्यक्ष पदमा कांग्रेससहितको गठबन्धनले तीन हजार दुई सय ३६ मत पाएको थियो भने एमालेले तीन हजार सात सय २० मत पाएको थियो ।

जिल्लाको पाँचै तहको उपाध्यक्षको मतभार तुलना गर्दा कांग्रेसभन्दा एमालेको मत चार सय ८४ ले बढी छ । पाँचवटै तहमा एमालेले दुई हजार दुई सय ५४ मत ल्यायो भने कांग्रेसले दुई हजार ७० मत पायो । वडाध्यक्षमा एमाले एक सय ८४ मतले बढी पाएको छ । जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार करिब पाँच सय बढी मतदाता नयाँ थपिएका छन् ।

प्रादेशिक निर्वाचनअन्तर्गत प्रदेश (ख) को तल्लो मुस्ताङमा थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका छन् । यहाँ गएको स्थानीय तह निर्वाचनमा एमालेले अध्यक्ष दुई र उपाध्यक्ष एक पद जितेको थियो भने कांग्रेसले एक अध्यक्ष र दुई उपाध्यक्ष जितेको थियो । यी तीन पालिकामा एमालेले अध्यक्ष पदमा दुई हजार सात सय ६९ मत र काँग्रेसले दुई हजार तीन सय ९२ मत पाएको थियो । 

त्यस्तै उपाध्यक्षमा एमालेले दुई हजार चार सय ४७ मत र कांग्रेसले दुई हजार चार सय ८२ मत पाएको थियो । प्रदेश (ख) मा एमालेले अध्यक्ष पदमा कांग्रेसभन्दा तीन सय ७७ मत बढी पाएको थियो । मुस्ताङको प्रदेश (क) मा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका पर्दछन् ।

यस प्रदेशमा एमालेले अध्यक्ष पदमा एक हजार तीन सय ५७ मत पाउँदा काँग्रेससहितको गठबन्धनले ६ सय ९९ मत पाएको थियो । उपाध्यक्षमा एमालेले एक हजार दुई सय ७३ मत र गठबन्धनले सात सय ५४ मत पाएको थियो । यस्तै वडाध्यक्ष मतभारमा एमालेले नौ सय पाँच मत र कांग्रेस गठबन्धनले छ सय ७१ मत पाएको थियो ।

स्थानीय तहको मतपरिणामअनुसार प्रदेश (क) मा एमालेले गठबन्धनभन्दा ६५८ मत बढी पाएको थियो । उपाध्यक्ष पदमा एमालेले गठबन्धनभन्दा पाँच सय १९ मत बढी पाएको थियो भने वडाध्यक्षतर्फ एमालेले दुई स ३४ मत बढी पाएको छ ।

गण्डकी प्रदेशको लाइफ लाइन बेनी, जोमसोम, कोरोला खण्डलाई कालोपत्रसँगै कोरोला नाकामा नेपालतर्फ भन्सारलगायतका पूर्वाधार तयार गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको नेकपा एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमप्रसाद तुलाचनले बताए । मुस्ताङदेखि डोल्पा जाने बाटोको पूर्णताका साथै यथासम्भव दामोदरकुण्ड जाने मोटरेवल बाटो, कालीगण्डकी र यसका शाखा मोटरेवल पुल निर्माण प्राथमिकतामा रहने तुलाचनले बताए ।

मुस्ताङको पर्यटकीय विकाससँगै सडक पूर्वाधार, कृषिको आधुनिकीकरणको मुद्दासहित आफू चुनावी अभियानमा जुटेको गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार योगेश गौचन थकालीले बताए । जनतालाई शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताको प्रत्याभूति गराउँदै पिछडिएका वर्ग र समुदायको उत्थान पनि आफ्नो प्राथमिकतामा रहेको थकालीको भनाइ छ ।