प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै मेरो अन्तिम पटक हो : पम्फा भुसाल

सफल खबर संवाददाता

शनिबार, १२ कार्तिक २०७९, १७ : ४५
प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै मेरो अन्तिम पटक हो : पम्फा भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक भएको बताएकी छन् । ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेकी मन्त्री भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले उमेर अवस्थाले गर्दा पनि आफूले निर्वाचन नलडने अवस्था आउने स्पष्ट पारेकी छन् । उनले त्यसबेला आफूले समानुपातिकतर्फको निर्वाचनमा जान सक्ने वा पार्टीको महत्वपूर्ण जिम्मेवारी लिएर बस्न सक्ने भन्दै युवाहरुलाई प्रत्यक्षतर्फको निर्वाचनमा लडने तयारी गर्न पनि आग्रह गरिन् ।

मन्त्री भुसालले भनेकी छन्, ‘म ६० वर्ष पुगे । १६ वर्ष हुँदा म ललितपुर आएको हुँ । ४४ वर्ष भयो यहाँ बसेको । म गत साउन ४ गतेबाट ६० वर्ष पुगे । अब अर्को संसद आउने बेलासम्म म ६५ वर्ष पुग्छु । अरु कुनै कारणले होइन्, म चाँही अब उमेर अवस्थाले प्रत्यक्ष निर्वाचन लड्न घरघर जान अनि टोलटोल पुग । गल्लीगल्ली पुग । सबै ठाउँ पुग । अब मसँग त्यो इच्छा छैन । अब म भन्दा युवा साथीहरु आउनुहोस् ।’

उनले थप भनेकी छन्, ‘मलाई रहर लाग्यो भने समानुपातिकमा जान्छु भनेपनि हुन्छ । राष्ट्रियसभा पनि छ । अरु राजनीतिक मोर्चाहरु पनि छन । पार्टीको जिम्मेवारी लिएर कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छु । अब मलाई अर्को चोटी उठने रहर छैन । यो अन्तिम चोटी हो प्रत्यक्षमा ।’

मन्त्री भुसालले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धन बनेको र आगामी निर्वाचनपछि पनि यसले निरन्तरता पाउने दाबी समेत गरिन् ।

 

प्रतिक्रिया दिनुहोस