प्रतिनिधिसभाका १३ सहित बन्दसूचीका २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

सफल खबर संवाददाता

विहीबार, ०३ कार्तिक २०७९, ०८ : ४४
प्रतिनिधिसभाका १३ सहित बन्दसूचीका २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो ।

समानुपातिक उम्मेदवारहरूमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारदेखि कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीकी श्रीमतीसम्मका विरुद्ध उजुरी परेको छ । त्यस्तै, सरकारी लाभको पदमा बसेर बन्दसूचीमा नाम राखिएकाहरूको उम्मेदवारी खारेज गर्न माग गरिएको छ । केही उजुरीमा क्लस्टरमा नपर्ने व्यक्तिहरूलाई राखिएकाले उनीहरूको नाम खारेज हुनुपर्ने दाबी गरिएको छ । उजुरीमा आदिवासी जनजाति, मधेशीलगायतका सूचीमा राखिएका व्यक्तिहरू उक्त समूहको नभएको दाबी गरिएको छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, जनता समाजवादी दल, नागरिक उत्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी दल, नेपाली जनता दल, नेसनलिस्ट पिपुल्स पार्टी, बहुजन पार्टी, जनमत पार्टीलगायतका दलहरूबाट सिफारिस भएका उम्मेदवारहरूविरुद्ध उजुरी परेको आयोगले जनाएको छ । प्रतिनिधिसभामा सबैभन्दा बढी कांग्रेसले सिफरिस गरेका उम्मेदवारका विरुद्धमा उजुरी परेका छन् ।

प्रतिनिधिसभातर्फ १३ जनाविरुद्धमा परेका उजुरीमध्ये ६ जना कांग्रेसका छन् । कतिपय उम्मेदवारले आफैंले पनि आफू जुन विषयअन्तर्गतको बन्दसूचीमा हुनुपथ्र्यो, त्यसमा नभएर अर्कै सूचीमा समावेश भएको भन्दै सोअनुसार कायम गरिदिन आयोगमा निवेदन दर्ता गराएका छन् ।

कांग्रेसका गोविन्दहरि पुडासैनीले गोविन्द्र भट्टराइको ठाउँमा आफ्नो नाम हुनुपर्ने दाबीसहित उजुरी दिनुभएको छ । त्यस्तै, कांग्रेसकै उमावति चौधरीले बन्दसूची पेस गर्दा क्लस्टर नमिलेको भन्दै आफ्नो नाम आदिबासी जनजाति भित्रको अल्संख्यक महिलामा समावेश गर्न माग गर्दै उजुरी दर्ता गराउनुभएको छ । बन्द सूचीमा रहेर उजुरी परेका धेरैजसो उम्मेदवारहरूमा लाभको पदमा रहेका, स्थानीय तहको निर्वाचनमा चुनाव लडेका र सरकारी सम्पत्ति अपचलनमा मुद्दा खेपेकाहरू रहेका छन् ।

कांग्रेसले सिफारिस गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारविरुद्ध कविता नेपालीले गरेको उजुरीमा परियारले सरकारी लाभको पद धारण गरेको र निजको नाम बन्दसूचीमा रहेकोले आवश्यक कारबाही गरी पाउँ भन्ने उल्लेख छ । त्यस्तै, कांग्रेसकै संगीता मण्डल धानुक जनजाति महिला भएकाले मधेशी महिलाको सूचीबाट हटाउन पुष्पादेवी साह र मनोजकुमार लालले माग गर्नुभएको छ ।

त्यसै गरी पूर्व मन्त्री नवीन्द्रराज जोशीको श्रीमती सपना राजभण्डारी जोशी नेवार जोशी नभएको र उनी आदिवासी जनजाति समूहमा नपर्ने भन्दै बन्दसूचीबाट नाम हटाउन तारा आचार्य र महेशप्रसाद सिग्देलले आयोगसमक्ष माग गर्नुभएको छ ।