टी-२० विश्वकपबाट बाहिरिए बुमराह

सफल खबर संवाददाता

विहीबार, १३ असोज २०७९, १६ : ४५
टी-२० विश्वकपबाट बाहिरिए बुमराह

एजेन्सी । अस्ट्रेलियामा हुने टी-२० विश्वकप अघि भारतीय टिमलाई ठुलो झट्का लागेको छ। तीव्र बलर जसप्रित बुमराहले चोटका कारण अस्ट्रेलिया विश्वकप गुमाउने भएका छन्।

उनले काँधमा लागेको चोटका कारण पुरै प्रतियोगिता गुमाउने भएका हुन्। उनलाई ठिक हुनमा ४ देखि ६ महिना लाग्ने जनाइएको छ।बुधबार दक्षिण अफ्रिकाविरुद्ध भएको पहिलो टी-२० मा पनि उनी टिममा थिएनन्। अभ्यासका दौरान काँधमा चोट बल्झिएपछि उनले विश्वकप गुमाउने पक्का भएको हो।

मेडिकल रिपोर्टअनुसार उनलाई ठिक हुन लामो समय लाग्ने भएपछि उनी टिमबाहिर हुने पक्का भएको हो। उनले यसअघि काँधकै चोटका कारण एसियाकप पनि गुमाएका थिए।

यद्यपि बुमराहले एसियाकप गुमाए पनि अस्ट्रेलिया सिरिजका दौरान टिममा पुनरागमन गरेका थिए। यो सिरिजमा पनि उनले पहिलो खेल खेलेका थिएनन्। दोस्रो खेलमा उनलाई मौका मिलेको थियाे, जहाँ उनले राम्रो पुनरागमन गरेका थिए।

टी-२० विश्वकपका लागि टिम घोषणा सँगै भारतमाथि लगातार दबाब बढिरहेको छ। यसअघि रविन्द्र जडेजा चोटका कारण विश्वकपबाट बाहिरिएका थिए। उनलाई टिममा सहभागी गराइएको थिएन।

त्यस्तै, दीपक हुड्डा पनि चोटिल भएका थिए। जसका कारण उनलाई दक्षिण अफ्रिका विरुद्धकाे सिरिज बाहिर राखिएको छ। भारत एसियाकपमा खराब बलिङका कारण तनावमा रहेको छ। उनी बाहिरिएसँगै अब मोहम्मद शामीलाई मौका मिल्न सक्ने संभावना रहेको छ।

प्रतिक्रिया दिनुहोस