भदौ महिनाभित्रै दलीय गठबन्धनको टुङ्गो लगाउनुपर्छ : झलनाथ खनाल

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, १९ : १२
भदौ महिनाभित्रै दलीय गठबन्धनको टुङ्गो लगाउनुपर्छ : झलनाथ खनाल

झापा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भदौ महिनाभित्रै दलीय गठबन्धनको टुङ्गो लगाइसक्नुपर्ने बताएका छन । समाजवादी प्रेस संगठन झापाले शनिबार बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले स्थानीय तहको निर्वाचनका लागि दलीय गठबन्धनको समयमा टुङ्गो नलाग्दा समस्या देखिएकाले बेलैमा टुङ्गो लगाउनुपर्ने बताए ।

नेता खनालले २०६२/०६३ को क्रान्तिका बहाक शक्तिहरू भएकाले अहिलेको पाँच दलीय गठबन्धन कायमै रहने तर पाँच दलीय गठबन्धनमा अन्य पार्टी समावेशको लागि बाटो खुल्ला रहेको समेत स्पष्ट पारे । उनले आगामी मंसिर चार गते हुने निर्वाचन देश र आफ्नो भविष्य बनाउने सुन्दर अवसर भएको बताए ।

देश निर्माणको लागि संविधानले परिलक्षित गरेको मूल मन्त्रलाई स्वस्थ्य जनमत तयार गरेर निर्वाचनमा जुट्नुपर्ने नेता खनालको भनाइ छ । अबको निर्वाचनमा पार्टीसँगै सही उम्मेदवारको छनोट मतदाताले गर्नुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस