कर्णालीमा बालीको उत्पादन घट्यो

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, ०८ : ०६
कर्णालीमा बालीको उत्पादन घट्यो

काठमाडौं । कर्णाली प्रदेशमा बालीको उत्पादन घटेको छ । आर्थिक वर्ष २०७८र७९ को पुस मसान्तसम्म समग्र कृषि बालीको उत्पादन ११।२४ प्रतिशतले घटेको पाइएको छ । 

नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयद्वारा सार्वजनिक आव २०७८÷७९ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार अघिल्लो आवको तुलनामा कृषि बालीले ढाकेको क्षेत्र र उत्पादन घटेको पाइएको छ ।

राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतले मुगुको स्थलगत र अन्य जिल्लाको गैरस्थलगत रुपमा कृषि, उद्योग र सेवा क्षेत्रको तुलनात्मक स्थिति, पूर्वाधार विकास, रोजगारीलगायत आर्थिक परिदृश्यको अध्ययन गरेको थियो । उक्त अध्ययनले कृषि बालीले ढाकेको क्षेत्रफल ६ दशमलव १९ प्रतिशतले घट्नुका साथै प्रमुख बाली धन, मकै र गहुँले ढाकेको क्षेत्रसमेत घटेको पाइएको छ । 

धानबाली ११ दशमवल ९० प्रतिशत, मकै ८ दशमलव ६५ र गहुँ ४ दशमलव ९५ प्रतिशतले घटेको छ । प्रतिवेदनले कोदो, फापर, भटमास, दलहन र तेलहनले ढाकेको क्षेत्रफल भने वृद्धि भएको देखाएको छ । धानबालीको उत्पादन २१ दशमलव ८९, मकैबाली २ दशमलव १ प्रतिशतले बढेको छ भने कोदो र फापरले ढाकेको क्षेत्रफल वृद्धि भएपनि उत्पादकत्वमा गिरावट आएको छ । कोदो र फापरको उत्पादन क्रमशः ४० दशमलव ९० प्रतिशत र ९ दशमलव ४० प्रतिशतले घटेको छ । 

कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले परम्परागत कृषि प्रणाली यथावत हुनु, समयमा पर्याप्त मल र बीउ नपाउनु, सिँचाइको उपलब्धता नहुनुजस्ता कारणले कृषि बाली क्षेत्र घट्न गई उत्पादनमा कमी आएको हुनसक्ने बताए ।