गण्डकी प्रदेश सरकारले दिने खानाको १५ लाख रकम अस्पतालले पाएन

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, २१ : १७
गण्डकी प्रदेश सरकारले दिने खानाको १५ लाख रकम अस्पतालले पाएन

लमजुङ । लमजुङको बेसीशहर नगरपालिकामा रहेको लमजुङ जिल्ला अस्पतालमा विरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या भएको छ। तीन वर्ष अघिदेखि जिल्ला अस्पतालमा शुरु भएको विरामीलाई निशुल्क खाना बापत आर्थिक वर्ष ०७८/७९ को १५ लाख रुपैया नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए।

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत पाउनुपर्ने विरामी खाना खर्च नपाउदा गत श्रावण देखि उधारो खाना खुवाउदै आएको अस्पतालले जनाएको छ। अस्पतालमा भर्ना भएका विरामीका लागि नियमित रुपमा खाना खुवाउदै आएपनि चालु आर्थिक वर्ष शुरु भएदेखि हालसम्म कुनै रकम नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए।

अस्पतालका अनुसार गत श्रावण महिना देखि जेष्ठको तेश्रो सातासम्म अस्पतालमा भर्ना भएका चारहजार तीनसय ५१ जना विरामीहरुका लागि अस्पतालले खाना खुवाएको छ। सो अवधीमा खानाको मात्रै १४ लाख ९० हजार सातसय ६८ रुपैया पुगेको र हालसम्म रकम प्राप्त नहुँदा तिर्न नसकेको अस्पतालले जनाएको छ।

प्रदेश सरकारसँग निरन्तर ताकेता गर्दा पनि रकम निकासा नभएको अस्पतालले जनाएको छ। विरामी खाना खर्च बापतको रकम उपलब्ध गराउन माग गर्दै तीन पटक सम्म पत्राचार गरिएको अस्पताल प्रमुख श्रेष्ठले बताए।

जिल्ला अस्पतालमा भर्ना भएका विरामीलाई निशुल्क खाना खुवाउने कार्यक्रम प्रदेश सरकारको भएको र प्रदेश सरकारले सोहि अनुसार बजेट व्यवस्थापन गरेपनि रकम निकासा नभएको हो। रकम निकासा नहुँदा खाना उपलब्ध गराउदै आएका व्यक्ती निकै समस्यामा परेको अस्पताल प्रशासनले जनाएको छ। एउटै व्यक्ती करिव बर्षदिनसम्म लाखौँ रुपैया उधारो कारोवार गर्दा व्यसायिक समस्या भएको हो।

जिल्ला अस्पताल लमजुङमा तत्कालिन सामुदायिक अस्पताल हुदाको अवस्थामा तीन वर्ष अघिबाट भर्ना भएका विरामीका लागि निशुल्क खानाको व्यवस्था हुँदै आएको हो। विरामीको निशुल्क खानाको लागि शुरुको वर्षमा अस्पताल रहेको स्थानिय तह बेसीशहर नगरपालिकाले केहि रकम उपलब्ध गराएको थियो। जिल्ला अस्पताल प्रदेश मातहतमा गएसँगै दायित्व पनि प्रदेश सरकारले नै लिएको हो।

अस्पताल प्रदेश सरकार मातहत आउनु अघि नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भएका विरामीहरुलाई नियमीत दुईछाक खाना खुवाउन शुरु गरेको हो। अस्पतालले विरामीको अवश्यकता र चिकित्सकको सल्लाहअनुसार विहान र बेलुका निशुल्क खाना उपलब्ध गराउदै आएको थियो।

विरामीहरुलाई सामन्यतय दाल भात, अण्डा वा जाउलो व्यवस्था गर्दै आएको छ। अस्पताल भित्रै सञ्चालन गरिएको क्यान्टीनबाट सो सेवा उपलब्ध गराउदै आएको छ। अस्पतालले विरामीलाई खानाको व्यवस्था गरेपछि आफन्तहरुलाई बाहिर होटल खोज्नुपर्ने खाना ओसार्नुपर्ने जस्ता झन्झट हटेको छ।

 

प्रतिक्रिया दिनुहोस