अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कुटनीतिज्ञहरुको भूमिका महत्वपूर्ण हुने: मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, १६ : ३९
अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कुटनीतिज्ञहरुको भूमिका महत्वपूर्ण हुने: मन्त्री श्रेष्ठ

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कुटनीतिज्ञहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्।हालै नियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदूतहरुसँग मन्त्रालयले सोमबार गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कुटनीतिज्ञहरुको भूमिका महत्वपूर्ण हुने बताएका हुन्।

विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन बढाउन सकिने मन्त्री श्रेष्ठको भनाइ छ। सबैको पहलमा विदेशी पर्यटक भित्र्याउन सके महामारीबाट थलिएको पर्यटन क्षेत्रले गति लिने विश्वास उनले व्यक्त गरे।  

राजदूतावास, स्थायी नियोग, महावाणिज्य दूतावास तथा अवैतनिक बाणिज्य दूतावासहरुले पर्यटक आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड रहेको थियो।

राजदूतहरुले व्यापार, लगानी , पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा भूमिका खेल्नुपर्ने उनको भनाइ छ। पर्यटन विस्तारका लागि हवाइ उडानको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले सरकारले हवाई यातायात र विमानस्थलहरलाई सुरक्षामैत्री बनाउने बताए।

नेपालको हवाई उडानलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन पहल गर्ने उनले बताए। छिमेकी मुलुक भारतलाई नयाँ हवाई प्रवेश बिन्दु खुला गरिदिन आग्रह गरिएको बताउँदै उनले आफ्नो कार्यकालमा नयाँ प्रवेश बिन्दु खुला हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा नवनियुक्त तथा प्रस्तावित राजदूतहरुले नेपालको पर्यटन विस्तारका लागि प्रवर्द्धनात्मक कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस