एसपीपी अस्वीकार पछि अमेरिकाले उस्तै नयाँ सम्झौताको ड्राफ्ट गरिरहेको छः देव गुरुङ

सफल खबर संवाददाता

आइतबार, २६ असार २०७९, १५ : ५४
एसपीपी अस्वीकार पछि अमेरिकाले उस्तै नयाँ सम्झौताको ड्राफ्ट गरिरहेको छः देव गुरुङ

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवप्रसाद गुरुङले अमेरिको नेपाललाई सैन्य गठबन्धनमा सहभागी गराउन चाहिरहेको बताएका छन् । नेपालले स्टेट पाटर्नशील प्रोग्राम (एसपीपी) अस्वीकार गरेपछि अमेरिकाले त्यस्तै अर्को सम्झौता तयार गरिहरेको समेत गुरुङले दाबी गरे ।

आइतबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले एसपीपी अस्वीकार गरेको पत्र अमेरिकी सरकारलाई पठाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको बताए ।“एसपीपी अस्वीकार गरेपछि अमेरिकाले नेपाललाई जसरी पनि सैन्य गठबन्धनमा सहभागी गराउन चाहिरेको छ । त्यसको लागि एसपीपीमा भएका प्रावधान राखेर अर्को सम्झौताको अमेरिकाले ड्राफ्ट गरिरहेको भन्ने कुरा पनि आएको छ । हाम्रो केन्द्रीय समिति बैठकले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने र एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठाउन सरकारलाई भन्ने निर्णय गरेका छौं” गुरुङले भने । उनले अमेरिका सुरुमा आइपीएसबाट आएको र त्यसमा सफल त्यही प्रावधान राखेर एसपीपी तयार गरेको समेत बताए ।

त्यसैगरी गुरुङ १२ बुँदे सर्त राखेर मात्रै संसदबाट एमसीसी पास गर्नेबेला बताउँदै त्यसबारेमा अहिलेसम्म अमेरिकाले कुनै जवाफ नदिएको बताए । “एमसीसी पास गर्ने बेला १२ बुँदे सर्त राखिएको थियो । अमेरिकाले १२ बुँदा माने एमसीसी लागु गर्न सकिने भन्ने कुरा थियो तर अहिलेसम्म अमेरिकाले कुनै जवाफ दिएको छैन । यसरी जवाफ नदिँदा प्रश्न उठेका छन् । यसबारे पनि सिसिको बैठकमा कुरा उठेको छ” गुरुङले भने ।विधेयक फिर्ता लिने सरकारको अधिकार भएपनि समितिमा छलफल भएर संसदमा पुगिसकेको नागरिकता विधेयक फिर्ता लिनु संसदीय अभ्यास र संसदीय मूल्यमान्यता विपरित कार्य भएको बताए । उनले नमिलेको कुरा भए राष्ट्रिय सभामा छलफल गर्न सकिने अवस्था हुँदाहुँदै सरकारले फिर्ता लिएकोमा असन्तुष्टि व्यक्ति गरे । उनले सरकारले नयाँ विधेयक ल्याउने भनेको बताउँदै अंगिकृत नागरिकताबारे विगतमा भएका समस्याबारे छलफल गरेर विधेयक ल्याउने विश्वास व्यक्त गरे । संविधानमै अंगिकृत नागरिकता विधेयक खुकुलो भएको भन्ने प्रश्न उठेपछि यसअघि विवाहित महिलालाई ७ वर्षको प्रावधान राखिएको बताउँदै त्यो प्रावधान हटाएर सरकारले विधेयक ल्याउन खोजेको होला भन्ने आफूलाई विश्वास नलागेको बताए ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक समेत रहेका गुरुङलेसत्ता गठबन्धन आगामी संघीय र प्रदेश चुनावसम्म जान सक्ने बताए । उनले सत्ता घटकबीचको सहकार्यमा ठूलै समस्या नआएकोले आगामी निर्वाचनसम्म जान सक्ने बताए । गुरुङले नेकपा एमालेले विगतमा गरेका गल्तीबारे आत्मालोचना नगरेका कारण उसँग सहकार्य गर्न सकिने आधार बनिनसकेको बताए । उनले भने, “प्रखुम प्रतिपक्ष एमालेबाट विगतमा भएका गल्तीबारे समिक्षासहित आत्मालोचना आएको छैन, अहिले नै एमालेसँग सहकार्य गर्न सकिने आधार बनेको छैन ।”केन्द्रीय समिति बैठकको म्याण्डेटअनुसार केही दिनमा पार्टी पदाधिकारीको चयन गर्ने पनि गुरुङले जानकारी दिए । “केन्द्रीय समिति बैठकको पूर्णता, पोलिट्ब्यूरो गठन, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षबारे टुंगो लागिसकेको छ, अब छिटै अन्य पदाधिकारीको टुंगो लाग्छ” गुरुङले भने । उनले चुनाव केन्द्रीत गरेर केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेको समेत बताए ।
 

प्रतिक्रिया दिनुहोस