एजेन्सी । कतारमा हुन गईरहेको फुटबल विश्वकप २०२२ मा रंगशाला स्टेडियमहरू अल्कोहलमुक्त हुने भएको छ । खेल अगाडि र पछाडि मात्र रंगशालाबाहिर बियर बिक्री गर्न अनुमति दिइएको छ ।
२०२२ को विश्वकप पहिलोपटक मदिरालाई कडा नियन्त्रण भएको मुस्लिम देशमा आयोजना हुन लागेको हो । जसका कारण आयोजक र प्रतियोगिता प्रायोजकहरूका लागि अनौठो चुनौति हुने भएको छ । बियर पिउने प्रशंसकहरूलाई लक्षित गरेर विश्वव्यापी ब्रान्डहरूले प्रायोजन गरेका हुन्छन् ।
“रंगशालाभित्र मदिरा लैजान नपाउने नियमलाई अन्तिम रूप दिन बाँकी नै छ । तर, हालको छलफल भनेको समर्थकहरूलाई रंगशाला छिर्नुअघि र बाहिरिँदा बियर पिउन अनुमति दिने हो । खेलको समयमा वा रंगशालाभित्र मदिरापान गर्न छुट दिइने छैन,” स्रोतलाई उल्लेख गर्दै रोयटर्सले लेखेको छ ।
२ जुन मितिको डकुमेन्टअनुसार आयोजकले अनुमानित १२ लाख समर्थकको मागलाई कसरी सम्हाल्ने भनेर योजना बनाइरहेका छन् । अल्कोहल र फुटबलको सम्बन्ध लामो समयदेखि कठिन बन्दै गाएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको दबाबपछि २०१४ को विश्वकपको आयोजक ब्राजिलले रंगशालामा लगाएको अल्कोहलको प्रतिबन्ध हटाएको थियो ।
सन् २०१० मा खाडी अरब राष्ट्रले आयोजना गर्ने अधिकार जितेसँगै २०२२ को विश्वकपमा मदिराबारे प्रश्नचिह्न खडा भएको थियो । छिमेकी साउदी अरबजस्तो मदिरा प्रतिबन्धित राज्य नभए पनि कतारमा सार्वजनिक स्थानमा मदिरा सेवन गैरकानुनी छ ।तथापी, नोभेम्बरबाट सुरु हुने विश्वकपमा समर्थकहरूले राजधानी दोहाको अल बिदा पार्कमा अवस्थित ‘फिफा फ्यान जोन’का केही भागहरूमा प्रतिबन्धित समयमा पनि बियर किन्न सक्नेछन् ।
रंगशाला र मुख्य फ्यान जोनबाट केही किलोमिटर टाढा रहेको दोहा गल्फ क्लबको एक कुनामा १५ देखि २० हजार समर्थकहरूका लागि मदिरा पिउने सुविधा उपलब्ध हुने जनाइएको छ । त्यस्तै, होटेलको डेलिभरि प्रवेशद्वार र जिल्ला कुलिङ प्लान्टको बीचमा अवस्थित तीन मिटर पर्खालले घेरिएको बालुवाको प्लटलाई टेक्नो संगीत र मदिरा पिउन पाउने स्थान बनाउने भनिएको छ । जहाँ १० हजार क्षमताले मनोरञ्जन लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २४ असार २०७९, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड
विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध भारत ७६ रनले पराजित