कतार विश्वकपमा रंगशालाभित्र मदिरा प्रतिबन्ध !

एजेन्सी

शुक्रबार, २४ असार २०७९, ११ : ०६
कतार विश्वकपमा रंगशालाभित्र मदिरा प्रतिबन्ध !

एजेन्सी । कतारमा हुन गईरहेको फुटबल विश्वकप २०२२ मा रंगशाला स्टेडियमहरू अल्कोहलमुक्त हुने भएको छ । खेल अगाडि र पछाडि मात्र रंगशालाबाहिर बियर बिक्री गर्न अनुमति दिइएको छ ।

२०२२ को विश्वकप पहिलोपटक मदिरालाई कडा नियन्त्रण भएको मुस्लिम देशमा आयोजना हुन लागेको हो । जसका कारण आयोजक र प्रतियोगिता प्रायोजकहरूका लागि अनौठो चुनौति हुने भएको छ । बियर पिउने प्रशंसकहरूलाई लक्षित गरेर विश्वव्यापी ब्रान्डहरूले प्रायोजन गरेका हुन्छन् । 

“रंगशालाभित्र मदिरा लैजान नपाउने नियमलाई अन्तिम रूप दिन बाँकी नै छ । तर, हालको छलफल भनेको समर्थकहरूलाई रंगशाला छिर्नुअघि र बाहिरिँदा बियर पिउन अनुमति दिने हो । खेलको समयमा वा रंगशालाभित्र मदिरापान गर्न छुट दिइने छैन,” स्रोतलाई उल्लेख गर्दै रोयटर्सले लेखेको छ । 
२ जुन मितिको डकुमेन्टअनुसार आयोजकले अनुमानित १२ लाख समर्थकको मागलाई कसरी सम्हाल्ने भनेर योजना बनाइरहेका छन् । अल्कोहल र फुटबलको सम्बन्ध लामो समयदेखि कठिन बन्दै गाएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको दबाबपछि २०१४ को विश्वकपको आयोजक ब्राजिलले रंगशालामा लगाएको अल्कोहलको प्रतिबन्ध हटाएको थियो ।

सन् २०१० मा खाडी अरब राष्ट्रले आयोजना गर्ने अधिकार जितेसँगै २०२२ को विश्वकपमा मदिराबारे प्रश्नचिह्न खडा भएको थियो । छिमेकी साउदी अरबजस्तो मदिरा प्रतिबन्धित राज्य नभए पनि कतारमा सार्वजनिक स्थानमा मदिरा सेवन गैरकानुनी छ ।तथापी, नोभेम्बरबाट सुरु हुने विश्वकपमा समर्थकहरूले राजधानी दोहाको अल बिदा पार्कमा अवस्थित ‘फिफा फ्यान जोन’का केही भागहरूमा प्रतिबन्धित समयमा पनि बियर किन्न सक्नेछन् । 

रंगशाला र मुख्य फ्यान जोनबाट केही किलोमिटर टाढा रहेको दोहा गल्फ क्लबको एक कुनामा १५ देखि २० हजार समर्थकहरूका लागि मदिरा पिउने सुविधा उपलब्ध हुने जनाइएको छ । त्यस्तै, होटेलको डेलिभरि प्रवेशद्वार र जिल्ला कुलिङ प्लान्टको बीचमा अवस्थित तीन मिटर पर्खालले घेरिएको बालुवाको प्लटलाई टेक्नो संगीत र मदिरा पिउन पाउने स्थान बनाउने भनिएको छ । जहाँ १० हजार क्षमताले मनोरञ्जन लिन सक्नेछन् ।