म्याग्दीमा सुरु भयो मह सिकार

सफल खबर संवाददाता

शनिबार, १९ बैशाख २०८३, ०८ : ३७
म्याग्दीमा सुरु भयो मह सिकार

म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ। धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो। 

धवलागिरी गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि महशिकार थालिएको जानकारी दिए। 

खोरीया नजिकैको महभिरमा रहेका दुई घारमा शुक्रबार महशिकार गरेको पाइजाको टोलीले अन्य पहरामा पनि महशिकारलाई निरन्तरता दिने छन्। पहिलो दिन १५ जनाको टोलीले महभिरबाट करिब ७० लिटर मह निकालेको छ। 

बेँसीका भिरबाट सुरु हुने मह सिकार गर्दै असारमा लेकको पहाडमा पुगिने अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका महशिकारी लोकबहादुर पाईजाले बताए। मह सिकारीले डोरीको सहायताले भीर मौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह निकाल्ने गर्दछन्। 

भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ । भीरमा भीरमौरीले लगाएका गोला काट्नका लागि महसिकारी डोरी (पराङ)मा झुन्डिएर मह सिकार गर्ने गर्दछन्। 

वसन्त र शरद ऋतु महशिकारका लागि उपयुक्त समय मानिन्छ। वसन्त ऋतुमा बेँसी र शरद्मा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो। प्रतिलिटर रु तीन हजार देखि रु तीन हजार ५०० का दरले भिरमह बिक्री हुने गर्छ। 

मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन्।

प्रतिक्रिया दिनुहोस