‘युक्रेन त्रासदी तर्फ जाँदैछ’ : पुटिन

एजेन्सी

शुक्रबार, २४ असार २०७९, १० : ४५
‘युक्रेन त्रासदी तर्फ जाँदैछ’ : पुटिन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार पश्चिमी देशहरूले आफ्नो देशविरुद्ध दशकौंदेखि आक्रामक व्यवहार गरेको आरोप लगाएका छन् ।

पुटिनले बिहिबार पश्चिमी राष्ट्रहरूलाई चुनौतीसमेत दिएका छन् । पुटिनले भने, ‘रुसलाई हराउने इच्छा छ भने युद्धको मैदानमा तपाईंहरुलाई स्वागत छ । तर यस्तो गर्दा युक्रेन त्रासदीतर्फ धकेलिनेछ । ’

समाचार एजेन्सी रोयटर्सका अनुसार भ्लादिमिर पुटिनको पछिल्लो बयान शुक्रबार इन्डोनेसियामा हुने  जी–२० का विदेश मन्त्रीको बैठकभन्दा ठिक अघि आएको हो । यो बैठकमा रुसी विदेशमन्त्री सर्गेई लावारोव जी–२० को आफ्नो समकक्षीसँग बन्द कोठामा बैठक गर्ने भएका छन् ।फेब्रुअरीमा युक्रेनमाथि हमलापछि पहिलो पटक रुसको यति ठूलो कुटनीतिज्ञले कहिल्यै पनि पश्चिमी देशको कुटनीतिज्ञसँग भेटघाट गरेका छैनन् ।

रुसी संसदका नेतालाई दिएको र टिभीमा प्रसारित भएको आफ्नो सम्बोधनमा भ्लादिमिर पुटिनले भने, ‘हामीले धेरैपटक सुनेका छौँ कि पश्चिमी देश युक्रेनका अन्तिम व्यक्ति बच्ने बेलासम्म हामीसँग लड्नेछन् । यो युक्रेनका जनताका लागि त्रासदी हो तर यस्तो लाग्छ कि स्थिति त्यता तिर नै अघि बढिरहेको छ ।’

फेब्रुअरीमा हमला भएपछि पश्चिमी देशले रुसमाथि कठोर आर्थिक प्रतिबन्ध लगाएको छ । यसले रुसलाई तनाव त दिइरहेको छ तर उसको कदम रोक्न पश्चिमी देश असफल भइरहेका छन् । पुटिनले बिहिबार भने, ‘पश्चिमी देशले चाहेको जस्तो भएन ।’

यद्यपि, युक्रेनका मुख्य मध्यस्थ मिखाइल पोदाल्याकले भ्लादिमिर पुटिनको बयान खारेज गरेका छन् । उनले पश्चिमी देशको कुनै यस्तो सामूहिक योजना नभएको बताए ।