काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले स्वतन्त्र र जिम्मेवार प्रेसबिना सुशासन, पारदर्शिता तथा नागरिक विश्वास मजबुत बनाउन कठिन हुने बताएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवस २०८३ का अवसरमा आइतबार जारी शुभकामना सन्देशमार्फत उनले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको संरक्षणप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
मन्त्री तिमिल्सिनाका अनुसार लोकतान्त्रिक शासन व्यवस्थामा सञ्चारमाध्यम केवल सूचना सम्प्रेषण गर्ने माध्यममा सीमित हुँदैनन्। राज्य संयन्त्र, राजनीतिक नेतृत्व, प्रशासनिक निकाय, निजी क्षेत्र तथा समाजका विभिन्न पक्षलाई उत्तरदायी बनाउन सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताएका छन्।
उनले प्रेस स्वतन्त्रतासँगै पत्रकारितामा व्यावसायिक आचरण, तथ्यमा आधारित सामग्री र जिम्मेवारी बोध पनि समान रूपमा आवश्यक रहेको बताएका छन्। सञ्चार क्षेत्रको विश्वसनीयता सुदृढ भए लोकतान्त्रिक प्रणालीप्रतिको विश्वास समेत बलियो बन्ने उनको भनाइ छ।
डिजिटल प्रविधिको विस्तारसँगै गलत सूचना, भ्रामक सामग्री, सामाजिक सञ्जालको दुरुपयोग तथा प्रविधिमार्फत सिर्जित मनोवैज्ञानिक प्रभावजस्ता चुनौती बढ्दै गएको सन्दर्भमा मन्त्री तिमिल्सिनाले सत्य, तथ्य र सार्वजनिक हितमा केन्द्रित पत्रकारिताको आवश्यकता अझ बढेको बताएका छन्।
समाजलाई सचेत, उत्तरदायी र लोकतान्त्रिक मूल्यमान्यतामा उन्मुख गराउन सञ्चार क्षेत्रको योगदान निरन्तर महत्त्वपूर्ण रहने उनले उल्लेख गरेका छन्। साथै सत्य र जनहितका पक्षमा सक्रिय पत्रकार तथा सञ्चारकर्मीप्रति सम्मान व्यक्त गर्दै स्वतन्त्र, विश्वसनीय र उत्तरदायी पत्रकारिताको अभ्यास थप सशक्त बन्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० बैशाख २०८३, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना