राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता

के भयो कुराकानी ?

सफल खबर संवाददाता

शनिबार, १९ बैशाख २०८३, १० : १५
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता

काठमाडौं । सरकारले एकपछि अर्काे अध्यादेशको चाङ नै राष्ट्रपति कार्यालय पठाउन थालेपछि राष्ट्रपति रामचन्द्र पौडेल र रास्वपाका सभापति रवि लामिछानेवीच भेटवार्ता भएको छ । 

सरकारले सिफारिस गरेकामध्ये खासगरी संवैधानिक परिषद्सम्वन्धी अध्यादेशमा राष्ट्रपति पौडेलले गम्भिर चासो राखेपछि दुई नेताका बीचमा भेटवार्ता भएको हो । विगत सरकारले सिफारिस गरेको र राष्ट्रपति कार्यालयले फिर्ता पठाएको र होल्ड गर्दाका प्रावधानसँग मिल्दोजुल्दो व्यवस्था राखेर फेरि संवैधानिक परिषद्सम्वन्धी अध्यादेश सिफारिस भएर आए पछि  के गर्ने भन्नेमा राष्ट्रपति पौडेल अनिर्णित छन् । 

उनले यसबारेमा बरिष्ठ कानुविद्हरु, नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग छलफल गरेर परामर्श लिईसकेका छन् । त्यही क्रममा उनले रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेका हुन् । सुरुमा उनले यस विषयमा प्रधानमन्त्री बालेन शाहसँग पनि संवाद गर्न चाहेका थिए । तर प्रधानमन्त्रीको मुड र स्वभावका आधारमा उनले पहिले प्रधानमन्त्रीको दलका सभापति लामिछानेसँग भेट गर्न चाहे । सोहीकारण राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेका बीचमा शुक्रबार भेटवार्ता भएको हो । 

पौडेलले विगतमा यही खालको अध्यादेश आउँदा आफुले फिर्ता पठाएको, होल्ड गरेको तर अहिले फेरि उही प्रावधानसहितको अध्यादेश आउँदा जारी गर्दा यसले जाने सन्देश र नजिर के हुने ? भन्ने बारेमा आफनो चासो रहेको लामिछानेसँगको भेटमा वताएका थिए । 

‘आफु सरकारले सिफारिस गरी पठाएको अध्यादेश जारी नगर्ने पक्षमा नरहेको तर विगतमा संवैधानिक परिषद्सम्वन्धी अध्यादेशमा यही खालको प्रावधान आउँदा फिर्ता पठाएको धृष्टान्त रहेको राष्ट्रपति पौडेलले रास्वपा सभापतिसँग राख्नुभएको थियो,’ राष्ट्रपति कार्यालय स्रोतले सफलखबरसँग भन्यो,‘ यसबारेमा राष्ट्रपतिले आफु परामर्शमा रहेको बताउनुभएको थियो ।’

सभापति लामिछानेले भने सरकारले सोचीविचारी गरेरै अध्यादेश सिफारिस गरेकोले यसलाई नरोक्न पौडेलसँग आग्रह गरेका थिए ।

विगत र अहिले एकै खालको राजनीतिक शक्ति सन्तुलन नरहेको र सरकारले काम छिटो गर्नका लागि मात्र अध्यादेशको साहारा लिनुपरेकोले सरकारको काम गराईको स्पिरिड अनुसारको मर्म बुझिदिन लामिछानेले राष्ट्रपतिलाई आग्रह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

पौडेल र लामिछानेका बीचमा झण्डै एक घण्टा चलफल भएको पनि स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस