श्रीलङ्काका राष्ट्रपतिद्वारा ईन्धन समस्या समाधानका लागि रुसी समकक्षीसँग फोनवार्ता

एजेन्सी

विहीबार, २३ असार २०७९, ०७ : ३१
श्रीलङ्काका राष्ट्रपतिद्वारा ईन्धन समस्या समाधानका लागि रुसी समकक्षीसँग फोनवार्ता

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति गोटबाया राजपाक्षले बुधबार रूसी नेता भ्लादिमिर पुटिनलाई फोन गरी आर्थिक सङ्कटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन् । 

राजपाक्षले पुटिनसँगको टेलिफोन वार्ता निकै उपलब्धिमुलक भएको बताए । उक्त अवसरमा राजपाक्षले विगतका चुनौतीहरूको सामना गर्न रूसी सरकारले गरेको समर्थनको लागि नेता पुटिनप्रति आभार प्रकट गरे । 

राजपाक्षले भने, “अहिलेको आर्थिक चुनौतीलाई पराजित गर्न श्रीलङ्कालाई इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव माग गरिएको छ ।”
उनले रूसी समकक्षी पुटिनसँग रूसी विमान कम्पनी ‘एरोफ्लट’ को सेवा श्रीलङ्कामा पुनः आरम्भ गर्न अनुरोध पनि गरेको उनको कार्यालयले जनाएको छ ।

इन्धन अभावको सामना गर्दै आएको श्रीलङ्काका राजनीतिक दल तथा उनीहरूका नेताले राष्ट्रपति राजपाक्षलाई रूससँग कच्चा तेलको लागि अनुरोध गर्न आग्रह गरेपछि राष्ट्रपति र रूसी नेताबीच फोनवार्ता भएको हो ।