जुवा खेल्ने ११ जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १७ : ११
जुवा खेल्ने ११ जना पक्राउ

काठमाडौं । मकवानपुर प्रहरीले अनलाइन जुवा खेल्ने ११ जनालाई पक्राउ गरेको छ। प्रहरीले हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडा डेरा गरी बस्ने कुलदीप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले कमलडाँडास्थित रुक्मणी न्यौपानेको घरको तेस्रो र चौथो तला भाडामा लिई सञ्चालन गरेको सूर्यप्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेडमा हारजित हुने गरी अवैध रूपमा अनलाइन गेम खेल्नेहरूलाई पक्राउ गरिएको जानकारी दिए। उनले पक्राउ परेकाहरूको साथबाट १ लाख ४५ हजार ७५ रुपैयाँ नगद, ११० थान मोबाइल, ५ थान कम्प्युटर, ३ थान ल्यापटप र ४ थान राउटर फेला पारेको बताए।

पक्राउ पर्नेहरूमा हेटौंडा–९ लामसुरे बस्ने २३ वर्षीय निशान आचार्य, हेटौंडा–४ कमलडाँडा बस्ने २४ वर्षीय राजीव गौतम, हेटौंडा–११ बस्ने २७ वर्षीय मधुकर बानियाँ, हेटौंडा–१४ चुरियामाई बस्ने २४ वर्षीय निमा थिङ, हेटौंडा–१२ बस्ने २३ वर्षीय विकास बल, मनहरी गाउँपालिका–४ बस्ने २० वर्षीय जोसिल खत्री रहेका छन्।

त्यसैगरी गोरखा पालुङटार नगरपालिका–७ बस्ने २२ वर्षीय डुलास तामाङ, पालङटारका २० वर्षीय तिकमान तामाङ, पालङटारकै २१ वर्षीय राजु तामाङ, पालुङटार–८ बस्ने २५ वर्षीय अमोश तामाङ, बाराको निजगढ नगरपालिका–४ बस्ने २० वर्षीय अर्पण खड्कालाई पक्राउ गरिएको कार्कीले जानकारी दिए। उनले घटनाको बारेमा विस्तृत रूपमा अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस