विपद्लाई टार्न सकिदैन, यसको सामना गर्नै पर्छ : मन्त्री खाँण

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १७ : ०५
विपद्लाई टार्न सकिदैन, यसको सामना गर्नै पर्छ : मन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद्लाई नदेखेको जस्तो टार्न नसकिने, यसको सामना गर्नैपर्ने बताएका छन् । विपद् जोखिम न्यूनीकरण व्यवस्थापनको लागि बनेको बहुसरोकारवाला निकायहरूले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खाँणले भने, “विपद्को सामना, नागरिक तथा सम्पत्तिको रक्षा गर्नु आजको हाम्रो बाध्यता र यथार्थता दुवै हो ।” 

उनले नेपाल र नेपालीको कारण अन्तर्राष्ट्रिय वातावरण बिग्रन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, २०७२ मा गएको विध्वशंकारी भूकम्पका कारणले न्यून वर्षा हुँदा पनि पहिरो जाने गरेको उनले बताए । भन्छन्, “यसले जोखिम बढाएको छ । अहिले त जलवायु परिवर्तनले गर्दा अतिवृष्टि र अनावृष्टि भइरहेको छ । यो जोखिमलाई कसरी छुट्याउने ?”

सम्मेलनमा नेपालका लागि जापानी राजदूतावासका उपप्रमुख तामुरा ताकाहिरोले नेपालजस्तै जापान पनि प्राकृतिक विपद् जोखिमयुक्त क्षेत्र भएको तर अहिले अवस्था परिवर्तन भएको स्पष्ट पारे । भन्छन्, “जापानले पनि धेरै विपद्को अनुभव बटुल्यो । तर, त्यसबाट पाठ सिकेर हामीले जोगिनका लागि प्रतिकार्य मजबुत बनायौँ ।”

जापानमा विपद्बाट जोगिन योजनामा नै बिल्ड ब्याक बेटर (पहिल्यै राम्रो बनाउने) नीतिलाई अँगालेको जिकिर गर्दै उनले सन् २०११ मा बहुसरोकारवाला निकायको अवधारणा अघि सारेको जानकारी दिए ।

नेपाल सरकारले विपद्को सामना गर्न र प्रतिकार्यको लागि भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण परिकल्पना गरी दुई वर्षअघि स्थापना गरेको छ । प्राधिकरण विपद्को प्रतिकार्यभन्दा पनि राहत र उद्धारमै सीमित रहँदै आएको छ । अहिले मनसुन शुुरु भइसकेको छ ।

गत वर्षझैँ यसवर्ष पनि सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम पूर्वानुमान शाखाले भविष्यवाणी गरिसकेको छ । जसका कारण २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ ।  प्राधिकरणका सीईओ डा। अनिल पोखरेलले प्राधिकरणले पछिल्लो दुई वर्षमा गरेको कामको चर्चा गर्दै भने, सबै उद्योगीलाई विपद् जोखिमको बिमामा अनुबन्ध गर्ने कोशिस गर्दै छौँ । यसका लागि कार्ययोजना बनाई छिट्टै लागु गर्छौ । उनले विपद्सम्बन्धी इपोर्टललाई परिमार्जित गरी ल्याउने र राहतकोषको लागि पनि गाइडलाइन बनाउन लागेको जानकारी दिए । 

सम्मेलनमा जापान र श्रीलंकाकामा विपद् व्यवस्थापनलाई कसरी बहुसरोकारवाला निकायबाट सम्बोधन गरिएको छ भन्दै प्रस्तुति दिइएको थियो । सन् २०११ मा गएको ठूलो भयावह पूर्वी भूकम्पपछि विपद्को दीर्घकालीन समाधानको लागि भन्दै एसिया प्यासिफिक एलायन्स फर डिजास्टर म्यानेजमेन्ट (एप्याड)को अवधारणा आएको थियो । 

सन् २०१२ मा स्थापना भएको एप्याडको श्रीलंका, बंगलादेश, जापान, फिलिपिन्स, कोरिया र इन्डोनेसियामा कार्यालयहरू छन् । नेपालमा पनि यसले प्रदेश १ मा काम गरिरहेको छ भने अब मधेस प्रदेशमा कार्यालय स्थापना गरेरै राहत, उद्धार र प्रतिकार्यमा काम गर्न लागेको जानकारी दिइएको छ । 

प्रतिक्रिया दिनुहोस