काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं प्रतिनिधिसभा सदस्य डा.धवलशमशेर जबराले संवैधानिक परिषद्का पदाधिकारीहरु दुई जनाको बहुमतले पनि नियुक्ति गर्न सक्ने व्यवस्था गरिनु संविधानको भावना विपरीत हुने बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले ६ सदस्यीय परिषद्मा कम्तिमा ४ सदस्यहरुको बहुमतबाटै नियुक्ति गर्ने प्रक्रिया उपयुक्त हुने बताएका हुन् ।
‘संवैधानिक परिषद् भनेको देशलाई लाइनमा राख्न, देशको हितमा संवैधानिक नियुक्तिका लागि बनाएको संस्था हो । त्यो बहुमतबाट नियुक्ति हुनुपर्छ भन्ने कुरा उत्तम छ । यसलाई दुई जनाले निर्णय गर्दिँदाखेरी संविधानको मर्म, बनाउने व्यक्तिहरुको चाहनाविपरीत हुनेछ,’– उनले भने ।
साथै, उनले अहिले दुई ठूला दल मिलेर सरकार बनाएको र जस्तोसुकै विधेयक पनि पारित हुने अवस्था रहेको उनले बताए । यसले देशको प्रजातन्त्रलाई निकै घाटा हुने उनले बताए l
साथै, उनले फौजदारी कार्यविधि संहिताको दफा १५९ को उपदफा ४ ले निषेध गरेको कसुरमा आममाफी दिन नहुने बताए । केही जघन्य अपराधहरुालाई आममाफी गर्न मिल्दैन भनेर संविधानमा प्रष्ट लेखिएको उनले बताए । खुनी, हत्यारा र भ्रष्टाचारीहरुलाई कसरी छुटाउने भनेर कांग्रेस–एमालेलाई ठूलो पिर परेको उनले बताए ।
उनले निजामति सेवा ऐनमा कुलिङ पिरियड राख्न जरुरी रहेको बताए । कुलिङ अफ पिरियड नराख्ने हो भने झन–झन भ्रष्टाचार मौलाउने उनको भनाइ छ । उनले अहिले गणतन्त्रको मजाक भइरहेको बताए । ‘यो गणतन्त्र मजाक भएको छ । नेताहरुको पेवा भएको छ । देशको र जनताको हितमा छैन यो संघीयता र गणतन्त्र । हामी चिच्याउँदै चिच्याउँदै आएका छौं । जनताले बल्ल सुन्न कान ठाडो पारेको हामीले अनुभव गरेका छौं । नेताहरुले सबक सिकेका छैनन् । यस्ता–यस्ता विधेयक ल्याउने प्रयासमा छन्,’ उनले भने ।
उनले गणतन्त्रले नेपाली जनताको भविष्य समाप्त पारेको आरोप लगाए । अब नेपाली जनताले गणतन्त्रलाई चलाउने पात्रलाई विश्वास गरिरहन नहुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ साउन २०८२, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धवल शमशेर अदालतमा उपस्थित