काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले आफूमाथि योजनाबद्ध र संगठित रूपमा चार प्रकारका शक्तिहरूले गोयबल्स शैलीमा कुप्रचार गरिरहेको गम्भीर आरोप लगाएको छ । केन्द्रीय समिति बैठकपछिको अन्तरपार्टी निर्देशनमार्फत पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ उद्धृत गर्दै एमालेले त्यस्तो निष्कर्ष निकालेको हो ।
अन्त्रपार्टी सर्कुलरअनुसार, पछिल्लो समय आम सञ्चारमाध्यम र सामाजिक सञ्जालको दुरुपयोग गर्दै एमालेको छवि बिगार्ने सुनियोजित प्रयास भइरहेको उसले आरोप लगाएको छ । एमालेले यसलाई “गोयबल्स शैलीको कुप्रचार” भन्दै चर्को आपत्ति जनाएको छ ।
यी हुन् एमालेले आफुविरुद्द लागेको भनी किटान गरेका चार शक्ति :
१. देशभक्त अडान नपचाउने विदेशी प्रभुत्वका पक्षधरः
एमालेको विचार, नेतृत्व र भूमिकाले नेपालमा विदेशी प्रभावलाई चुनौती दिएको भन्दै यस्तो शक्तिले एमाले विरुद्द प्रचार युद्ध चालेको आरोप उसले लगाइएको छ । एमालेका अनुसार, यस्ता शक्तिहरूले देशभक्त पार्टीलाई कमजोर बनाउन मिडिया र समाजिक सञ्जाल प्रयोग गरिरहेका आरोप लगाएको छ। एमालेको अपानीमा भनिएको छ,–‘ हाम्रा विरुद्धको कूप्रचारमा रहेको पहिलो शक्ति हो– हाम्रो देशभक्तिपूर्ण अडान र भूमिका मन नपराउने शक्ति ।
जो आफ्नो प्रभुत्व र स्वार्थका लागि नेपालमा देशभक्त पार्टी र नेतृत्वलाई कमजोर बनाउन चाहन्छ । त्यसका लागि उसले आफ्नो प्रभावलाई हाम्रा विरुद्धमा परिचालित गरेको देखिन्छ । पार्टीले त्यसप्रकारको हमलाको सुरुदेखि नै प्रतिवाद गरेर नै पार्टीलाई यहाँसम्म ल्याउन सफल भएको हो ।’
२. राजसंस्थाको पुनःस्थापनाको सपना देख्ने प्रतिगामी तत्वहरूः
एमालेले आफू गणतान्त्रिक मूल्यका पक्षमा उभिएको भन्दै राजसंस्थाप्रति झुकेको शक्तिहरूबाट निरन्तर एमालेले हमलाको सामना गरिरहेको दाबी गरेको छ । कुनै बेला गणतन्त्र आउने कुरा बयलगाढा चढेको जस्तै भएको भनी टिप्प्णी गर्ने गरेका एमालेका अध्यक्ष ओली अहिले गणतन्त्रका आफु पहिलो प्रखर रक्षक र आन्दोलनकर्ता भएको दावी गर्न थालेका छन् । उनले केन्द्रीय समिति बैठकपछि अन्तरपार्टी निर्देशिका (अपानी) नेता कार्यकर्तामा पठाउँदै भनेका छन्, ‘नेपालमा राजसंस्था पुनःस्थापनाको
सपना देखेका प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरू । उनीहरू हाम्रा कारणले उनीहरूको चाहना पुरा नभएका ठान्दछन् र हाम्रा विरुद्धमा केन्द्रित छन् ।’
३. सत्ता गुमाएका वामपन्थी छायाँ शक्तिहरूः
एमालेले आफुविरुद्ध लाग्ने तेस्रो शक्ति माओवादीप्रति लक्षित गरेको छ । एमालेका अनुसार, विगतमा सत्तामा सहभागी भए पनि अहिले प्रभाव गुमाएका वामपन्थी समूहहरूले ‘म्याजिक नम्बर’ गुमाएको झोंकमा एमालेविरुद्ध छद्म हमला गरिरहेको आरोप लगाएको छ ।
‘नेकपा (एमाले) नेपालको वामपन्थी आन्दोलनको मुख्य शक्ति बनेको र हाम्रा कारणले उनीहरूको सत्ता राजनीतिको म्याजिक नम्बर’ औचित्यहीन बनेको र भूमिका खोसिएको ठानेर विछिप्त छन् । उनीहरू हाम्रा विरुद्धमा अराजनीतिक र अपराधिक तरिकाबाट छद्मरूपमा हमला गरिरहेका छन्’ एमालेले कार्यकर्तालाई पठाएको अपानीमा उल्लेख छ ।
४.नयाँ वैकल्पिक शक्ति निर्माणको आकांक्षा बोकेका अराजकतावादी धारहरूः
एमालेले राष्टिय स्वतन्त्र पार्टी, बालेन र अर्क सामपाङहरुका अभियान पनि एमालेविरुद्द लक्षित भएको आरोप लगाएको छ । लोकप्रियतावाद र अराजकतावादको सहारामा अघि बढ्न खोज्ने शक्ति पनि एमालेविरुद्ध सक्रिय रहेको भन्दै पार्टीले तिनीहरूबाट सचेत रहन निर्देशन दिएको छ । ‘नयाँ वैकल्पिक शक्ति निर्माणको आकांक्षा बोकेका शक्तिहरू लोकप्रियतावाद र अराजकतावादको सहारा लिएर अघि बढ्न खोजिरहेका छन् । उनीहरू आफ्नो उद्देश्य
पुरा गर्नका लागि नेकपा (एमाले)ले बाधा पु¥याउने ठानेर हाम्रा विरुद्धको कूप्रचारमा केन्द्रित छन् । नीतिविहीन लोकप्रियतावाद र अराजकतावादले नेपाली समाजमा पु¥याउनसक्ने क्षतिका बारेमा हाम्रो पार्टी सचेत र स्पष्ट छ ।’ एमालेको अपानीमा उल्लेख छ ।
सर्कुलरमा पार्टीले ‘मिशन ८४’ (अगामी प्रतिनिधिसभा निर्वाचन) का लागि अनुकूल आधार बनाउन यी शक्तिहरूको योजनाको सशक्त प्रतिवाद आवश्यक रहेको उल्लेख गरेको छ ।
“गलत प्रवृत्तिको सशक्त प्रतिरोधबाट नै हामीले मिसन ८४ का लागि अनुकूल आधार तयार पार्न सक्दछौं,” सर्कुलरमा भनिएको छ । यधपी उसले आगामी चुनावको प्रतिस्पर्धी पार्टी कांग्रेसप्रति भने मौन बसेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ साउन २०८२, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशमा एमालेलाई वडा अधिवेशन गर्नै मुश्किल
काँग्रेसलाई एमालेले भन्योः प्रदेशलाई अस्थिर बनाउन पाइँदैन, अविश्वास प्रश्तावबारे छिटो निष्कर्षमा पुग्नुस्
एमालेमा सदस्यता नवीकरण रोकिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै भण्डारी
एमाले बैठकले पारित गरेको प्रस्तावमा के छन् ? (पूर्णपाठ)
एमालेमा भण्डारी रोक्न ओलीले कसरी बनाए योजना
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै