६५ वर्षको 'भूमिगत' यात्रा टुंग्याउँदै मोहनविक्रम सिंह खुला राजनीतिमा

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०८२, ०९ : ०३
६५ वर्षको 'भूमिगत' यात्रा टुंग्याउँदै मोहनविक्रम सिंह खुला राजनीतिमा

काठमाडौं । देखिने तर औपचारिक रूपमा नदेखाइने, बोल्ने तर मिडियामा नदेखिने, भेटिने तर ‘अर्धभूमिगत’ भनेर चिनिने - नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहको यस्तो राजनीतिक जीवन अब अन्त्य हुँदैछ । नेकपा मसालले उनलाई अब पूर्ण रूपमा सार्वजनिक गर्ने निर्णय गर्दै ६५ वर्ष लामो भूमिगत यात्राको पटाक्षेप गरेको छ ।

साउन ९ र १० गते बसेको मसाल केन्द्रीय समितिको बैठकले महामन्त्री सिंहलाई खुला राजनीतिमा ल्याउने निर्णय गरेको हो । यो सँगै ‘अर्धभूमिगत’ भन्ने राजनीतिक पहिचान मोहनविक्रमको अव समाप्त भएको छ ।

पञ्चायती शासनकालमा पूर्ण भूमिगत भएका सिंहविरुद्ध वारेन्ट जारी गरिएको थियो । गणतन्त्र र बहुदलीय लोकतन्त्रपछि पनि कानुनी रूपमा खुला भए तापनि उनले राजनीतिक निर्णयअनुसार आफूलाई अर्धभूमिगत नै राखे । सार्वजनिक कार्यक्रममा नजाने, मिडियाबाट टाढा रहने, फोटो खिच्न अनुमति नदिने- यस्ता ‘गोप्य रीतिनीति’हरूले उनलाई नेपाली राजनीतिमा रहस्यमयी बनाइरहे । यद्यपि, कार्यकर्ताबीच उनी सक्रिय थिए, बहस र निर्देशनमै अग्रपंक्तिमा ।

पार्टीको नेतृत्वमा रहेका, आन्दोलनका सैद्धान्तिक सूत्रधार बनेका सिंहलाई अझ लामो समय लुकाएर राख्नु राजनीतिक रूपमा प्रभावहीन हुने निष्कर्षसँगै अब पार्टीले उनलाई खुला बनाउने साहसी निर्णय लिएको हो ।

विगत केही वर्षयता सिंहको उपस्थिति आन्तरिक कार्यक्रमहरूमा मात्र सीमित थियो । तर पार्टीको रणनीतिक आवश्यकता र बदलिँदो सन्दर्भमा अब उनी खुला रूपमा सार्वजनिक जीवनमा आउने निर्णय भएको हो । पार्टीको नेतृत्वमा रहेका, आन्दोलनका सैद्धान्तिक सूत्रधार बनेका सिंहलाई अझ लामो समय लुकाएर राख्नु राजनीतिक रूपमा प्रभावहीन हुने निष्कर्षसँगै अब पार्टीले उनलाई खुला बनाउने साहसी निर्णय लिएको हो ।
सन्देश के दिन खोजिएको छ ?

यो निर्णय केवल एक व्यक्तिको सार्वजनिक उपस्थितिमात्र होइन, मसालको राजनीतिक शैलीमै एक ठूलो मोडको संकेत हो । खुलापनतर्फको यो परिवर्तनसँगै मोहनविक्रम सिंह अब विचार, सिद्धान्त र संघर्षका मुद्दामा खुला बहसमा सहभागी हुनेछन् । नेपालको वाम आन्दोलनमा दशकौंसम्म छायाँझैँ बाँच्दै आएका एक नेताको अब प्रकाशमा प्रवेश - यो दृश्य आफैँमा एक राजनीतिक विमर्श बन्ने छ । अब सिंह केवल अर्धदेखिने नेतामात्र होइन, सार्वजनिक राजनीतिक खेलमैदानमा उत्रिएका एक ‘नयाँ संस्करण’का अनुभवी योद्धा बन्दैछन् ।

९० वर्षको उमेरमा सार्वजनिक जीवनमा पुनः प्रवेश गर्नु कुनै सामान्य कदम होइन । यो केवल सिंहको व्यक्तिगत निर्णय होइन, बरु मसालको रणनीतिक परिवर्तन हो । यो नेपालका वामपन्थी धारणामा एउटा गहिरो परिवर्तनको संकेत पनि हुन सक्छ- जहाँ गुप्त र परिधिमा बस्ने धारबाट मूलधारमा फर्कन खोजिएको छ ।

अब प्रश्न के उठ्छ भने- मोहनविक्रम सिंह खुला राजनीतिमा आउँदा मसालको प्रभाव बढ्नेछ कि अझै सीमित रहनेछ ? राजनीतिक दलको नेतृत्व ९० वर्षीय व्यक्तिमा केन्द्रित राख्नु आफैँमा बहसको विषय हो ।

प्रतिक्रिया दिनुहोस