सर्वोच्च अदालतको निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरूका बीचको सम्बन्धलाई शत्रुतापूर्ण अवस्थामा परिणत गरेको

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १६ : ५४
सर्वोच्च अदालतको निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरूका बीचको सम्बन्धलाई शत्रुतापूर्ण अवस्थामा परिणत गरेको

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले साविक नेकपाका एकता भंग गर्ने सर्वोच्चको निर्णय त्रुटीपूर्ण भएको निष्कर्ष निकालेका छन्। एकता राष्ट्रिय अभियानको घोषणा गर्दै गौतमले अदालतको निर्णय त्रुटीपूर्ण र हानिकारक सावित भएको दाबी गरेका हुन्। 

‘नेपाली जनताको आशा र भरोसाका रुपमा केही वर्ष पहिले मात्र उदय भएको राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन उन्मुख भएर दुई अध्यक्षको नेतृत्वमा दुई समूह बनि एक अर्काका विरुद्ध आन्दोलन गरिरहेका बेला त्यो अनौठो क्रियाकलापलाई रोक्न र पार्टी एकताको पक्षमा जनमत सृजना गर्ने उद्देश्य राखेर नेकपा एकता राष्ट्रिय अभियानका नाममा २०७७ साल माघ १४ गते दवाव समूहका रुपमा यसलाई अगाडि सारिएको थियो’ गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

पहिला एकता अभियान सर्वोच्च अदालतको ०७७ साल फागुन २३ गते निर्णयकै कारणले सफल नभएको उनको ठहर छ। 

‘एउटै पार्टी दुई समूहमा विभाजित भई एक अर्काका विरुद्ध शत्रुतापूर्ण आन्दोलनको अवस्था समाप्त हुनेछ भन्ने अनुमान गरेर हामीले त्यो निर्णयलाई समर्थन गरेका थियौं । तर व्यवहारमा अनुमान सत्य हुन सकेन’ उनले भनेका छन्, ‘सर्वोच्च अदालतको निर्णयले पुनःस्थापित नेकपा (एमाले) पुनः विभाजन उन्मुख भयो र केही महिनापछि साँच्चिकै विभाजित भएरै छोड्यो।’ 

नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वोच्च अदालतको निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरूका बीचको सम्बन्धलाई शत्रुतापूर्ण अवस्थामा परिणत गरेको उनको आरोप छ । 

उनले भनेका छन्, ‘नेपालको राजनीतिक अवस्थामा गम्भीर नकारात्मक प्रभाव बृद्धि भइरहेको छ। यी तथ्यहरूको आधारमा भन्नुपर्दा सर्वोच्च अदालतको निर्णय त्रुटीपूर्ण र हानिकारक सावित भएको छ। त्यसकै कारण जनतामा निराशा बढ्दै जान थालेको छ। यसलाई आशावादितातर्फ मोड्न सकिएन भने समाजमा साँच्चिकै अराजकता फैलिन सक्ने छ।’

आफूले गठन गरेको पार्टीको सबभन्दा महत्वपूर्ण कार्यभार नै नेपाल कम्युनिष्ट पार्टी नेकपालाई फेरि पुनर्गठन गर्नु नै भएको उल्लेख गरेका छन्। 

आगामी निर्वाचनमा विभाजित कम्युनिष्ट पार्टीहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एकीकृत हुन नसकेको अवस्थामा कार्यगत एकतामा आउन वातावरण  सिर्जना गर्ने दाबी गरे। 

‘कार्यगत एकतामा जाने अवस्था सृजना हुँदा उपरोक्त तीन पार्टीसहित राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी समेतको बृहत वामपन्थी चुनावी मोर्चा निर्माण गर्ने कामलाई महत्वका साथ हामीले गर्ने कामको सूचीमा समावेश गरेका छौँ’ उनले उल्लेख गरेका छन्। 

 

प्रतिक्रिया दिनुहोस