५ लाख थान पुस्तक असारसम्ममा छाप्ने जनक शिक्षाको लक्ष्य

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १६ : ४७
५ लाख थान पुस्तक  असारसम्ममा छाप्ने जनक शिक्षाको लक्ष्य

काठमाडौं ।जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले अझै करिब ५ लाख थान नयाँ पुस्तक छाप्न बाँकी रहेको जनाएको छ। जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले बाँकी पुस्तक यही असारभित्रै छापिसक्ने दाबी गरे।उनले थप पुस्तक छाप्नुपर्ने माग आएपछि समय लम्बिएको बताए। ‘३ लाख थान छाप्न बाँकी रहेको पुस्तक यही १५ गतेभित्र सक्ने भनेका थियौँ तर पछि फेरि निजी विद्यालयका लागि सरकारले थप सामाजिक, अंग्रेजी र नेपाली विषय छाप्न भनेपछि समय लम्बिने देखियो,’ उनले भने।

उनका अनुसार निजी विद्यालयका लागि थप २ लाख पुस्तक छाप्नुपर्ने भएको छ। करिब १ करोड ९० लाख थान नयाँ पुस्तक छाप्नुपर्ने थियो। २०७९ को नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन पुग्दा पनि अझै पुस्तकको छपाइ सकिएको छैन।​गत जेठ १ गतेबाट नै सरकारले देशभर पठनपाठन थाल्ने भनेको थियो। राजधानी र विकट जिल्लाका सबै विद्यार्थीको हातमा नयाँ पुस्तक परेको छैन। सामुदायिक विद्यालयमा मात्र नभई निजी विद्यालयमा पनि पुस्तक पुगेको छैन।  

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) का अध्यक्ष पाण्डव हमालले सामुदायिकमा जस्तै अझै निजीमा पनि पुस्तक नपुगेको जानकारी दिए।उनले भने, ‘जनक शिक्षाले छापेको सामाजिक शिक्षा, नेपाली विषय प्रयोग गरिरहेका छौँ तर यी पुस्तक ग्रामीणलगायत शहरी क्षेत्रमै विद्यार्थीले पाएका छैनन्, छिटो व्यवस्था गर्न पहल गरिरहेका छौँ।’

जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी आचार्यले कागज अभाव र स्थानीय तह निर्वाचनको लागि मतपत्र छपाइले पुस्तक छपाइमा ढिला भएको जानकारी दिए। छापि सकिएका पुस्तक सम्बन्धित ठाउँमा पुर्‍याउँदै आएको उनको दाबी छ। 

जनक शिक्षाको धनगढी, नेपालगन्जलगायत ९ ठाउँमा प्रादेशिक कार्यालयमा पठाइ वितरण गरिरहेको उनको भनाइ छ। कक्षा १ देखि १२ सम्मको नयाँ पुस्तक छापिन्छ। कक्षा १ देखि ९ सम्म रंगीन पाठ्यपुस्तक छापिएको छ भने कक्षा १० देखि १२ सम्मको कालो र सेतो (ब्ल्याक एण्ड ह्वाइट) पुस्तक छापिँदै आएको उनले बताए।

प्रतिक्रिया दिनुहोस