नेपालमा लगानी गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १५ : ३९
नेपालमा लगानी गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलियासमक्ष आग्रह गरेको छ।

नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसँग काठमाडौँको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन्।

नेपाल र अष्ट्रेलियाबीच ६० वर्षभन्दा पुरानो कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सरकारी र निजी क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यकता रहेको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए।

अष्ट्रेलियाले नेपालको वन क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न लामो समयदेखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्ले यसको निरन्तरतामा जोड दिए।उहाँले जडिबुटी एवं खानीजन्य तथा धातुहरुको प्रशोधन गर्ने उद्योगमा लगानी गरी अन्तर्राष्ट्रिय बजार प्रर्वद्धन गर्नसमेत राजदूत वोल्कसमक्ष आग्रह गरे।

अध्यक्ष मल्लले भने, ‘समृद्ध मुलुक अष्ट्रेलियाले थुप्रै देशमा लगानी गरिरहेको छ। तर नेपालमा लगानी निकै नगण्य मात्रामा छ। भारत तथा बंगलादेशको विद्युत बजारलाई मध्यनजर गर्दै अपार सम्भावना भएको नेपालको जलविद्युतमा लगानी गर्नका लागि म महामहिम राजदूत वोल्कलाई आग्रह गर्दछु।’

अष्ट्रेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानीका लागि अध्यक्ष मल्लले आग्रहसमेत गरे।

जवाफमा राजदूत वल्कले नेपाल–अष्ट्रेलिया कूटनीतिक सम्बन्ध ६० वर्षभन्दा पुरानो र ऐतिहासिक भएको बताइन्। नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अष्ट्रेलियाले सधैँ गर्व गर्ने उनको भनाइ थियो।

नेपालबाट वार्षिक ५० हजार विद्यार्थी अध्ययनका लागि अष्ट्रेलिया जाने गरेको भन्दै वल्कले उनीहरुको शैक्षिक सुधार तथा भविश्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकता दिएको बताइन्।

प्रतिक्रिया दिनुहोस