अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १४ : ५५
अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ।यही असार १८ गते शनिबार दिउँसो ३ बजे पोखरा सभागृहमा मञ्चले आयोजना गर्ने छैटौँ पोखरा स्पोर्ट्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई सम्मानित गरिने भएको हो। भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्र पत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए।

पूर्व अन्तरराष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन्। उनलाई पराजित गरेका पाकिस्तानी बक्सर एशियन गेम्सकै गोल्ड मेडलिस्ट हुन्।

भट्टराई सन् १९८९, १९९० र १९९१ मा लगातार बक्सिङमा राष्ट्रिय च्याम्पियन भए। सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराई पहिलो सहभागितामै जुनियर च्याम्पियन बने। १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनसिपमा गोल्ड मेडल जिते।

सोही वर्ष सिनियरतर्फ चौथो भए। त्यसको एक वर्षपछि राष्ट्रिय च्याम्पियन बने। सन् १९९० मा बैंकक र सन् १९९१ मा पाकिस्तानमा ६/६ महिना प्रशिक्षणका लागि भट्टराई पुगेका थिए।

राष्ट्रिय र अन्तरराष्ट्रिय खेलमा सहभागिता जनाउँदै गर्दा उनको दाहिने हात भाँच्चियो। त्यसपछि खेलाडीको रूपमा उनको करिअरले विश्राम लिए पनि व्यवस्थापकीय पक्ष सम्हाल्न थाले। सन् १९९८ मा नेपालमै भएको सागमा २ स्वर्ण, ५ रजत र २ कास्य पदक देशले जित्दा उनी टिम मेनेजर थिए।

फुटबलमा समेत संलग्न भट्टराई एन्फाको केन्द्रीय सदस्य हुँदै उपमहासचिव बने। भट्टराईले भूतपूर्व खेलाडी मञ्चका उपाध्यक्ष, नेपाल बक्सिङ सङ्घका उपाध्यक्ष, जोय फाउन्डेसनका संस्थापक सदस्य, रेबान पोखराको अध्यक्ष, पोखरा उपमहानगरपालिकाको ८ महिनासम्म उपमेयरको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

यसअघि, मञ्चले अग्रज खेलाडीहरू प्राडा वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्रबहादुर गुरुङ र आनन्द रञ्जितलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले छैटौँ पोखरा स्पोर्ट्स अवार्ड २०७८ को तयारी अन्तिम चरणमा पुगिसकेको जनाएका छन्।

पोखरा स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरूप प्राप्त गर्नेछन्। वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद सङ्घ, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजार रूपैयाँको साथमा ट्रफी प्रदान गरिनेछ।

पोखरा सभागृहमा आयोजना हुने अवार्डलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कन्स्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपूर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटेल पौवा लेक साइड, जु जु वेयर्स, सिटीवान टेलिभिजन, चिल्लिबार एन्ड रेस्टुरेन्ट, साइमन पार्टी प्यालेस, वर्ल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, मनकामना पेट्रोल पम्प, सिटिजन फर्निचर लगायतले सहयोग गरेका छन्।

मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोर्ट्स अवार्ड कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस