बागलुङ क्षेत्र नम्बर १ मा सडक निर्माणका लागि १८ करोड विनियोजन

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, ११ : २७
बागलुङ क्षेत्र नम्बर १ मा सडक निर्माणका लागि १८ करोड विनियोजन

काठमाडौँ । संघीय सरकारले बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतका १६ साना ठूला सडक योजनालाई संघीय सरकारका विभिन्न मन्त्रलयबाट आगमी आर्थिक वर्षका लागि १८ करोड ६५ लाख ५० हजार बजेट विनियोजन गरेको छ।

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतका १६ नयाँ तथा पुराना सडक, स्तरोन्नती, पूर्वाधार र कालोपत्रेका लागि बजेट विनियोजन भएको छ। संघीय सरकारको भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र शहरी विकास मन्त्रालयअन्तर्गत १६ सडक ओजनाका लागि आर्थिक वर्ष २०७९÷०८० का लागि उक्त बजेट विनियोजन भएको बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठकले जानकारी दिए।

पाठकका अनुसार विभिन्न अधुरा सडक पूरा गर्न, भौतिक पूर्वाधार निर्माण गर्न, सडकको पहिरो नियनत्रण गर्न र केही सडक कालोपत्रे गर्नका लागि बजेट विनियोजन भएको जानकारी दिए। सांसद डा. पाठकका अनुसार मध्यपहाडी राजमार्गको अछेते–सलाम हुँदे स्वास्थ्य केन्द्र मुलठाना पुग्ने सडक स्तरोन्नतीका लागि एक करोड, बागलुङ बजार–तित्याङ–शान्तिपूर सडक मर्मतका लागि ५० लाख, बागलुङ नगरपालिका वडा नम्बर १० गलुवा हुँदै तल्लो गलुवा–काउँरेडाँडा–देउराली हुँदै अर्वादी सडकका लागि ५० लाख, बागलुङ नगरपालिका वडा नम्बर १ मालढुङ्गा–पाग्दा–लहरेबर हुँदै अमलाचौर जोड्ने सडक स्तरोन्नतीका लागि एक करोड विनियोजन भएको छ।

यस्तै कुश्मिशेरा–जैदी–ज्यामीरे–नाम्दुक हुँदै शान्तिपुर जोड्ने सडक स्तरोन्नतीका लागि रु. एक करोड, बागलुङ–डाँठे ताल बानपा–१० भकुण्डे हुँदै रायडाँडा पुग्ने सडकका लागि ५० लाख र बागलुङ गिठे अमलाचौर हुँदै पैयुपाटा सडक स्तरोन्नतीका लागि ५० लाख विनियोजन गरिएको छ।

यस्तै एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक अन्तर्गतको बागलुङ बजारको अदालत चौपारी–सिगाना–चापाखर्क–गाँजाको दह हुँदै बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रेका लागि पाँच करोड विनियोजन भएको छ। उक्त सडकको पहिलो चरणमा १० किलोमिटर सडक बागनपा–३ देखि सिगाना सम्मको १० किलोमिटर सडक कालोपत्रेका लागि बहुवर्षे ठेक्का प्रकृयामा गइसकेको छ।

प्रदेश अन्तर्गत काम हुँने स्थानीय सडक सञ्जाल सुधार कालोपत्रे अदालत चौपारी–तित्याङ–सालबोट, भकुण्डे, रायडाँडा हुँदै दमेक र बरेङ जोड्ने सडक कालोपत्रेका लागि रु. तीन करोड बजेट बिनियोजन भएको छ।

यस्तै आगमी आर्थिक वर्षमा शहरी विकास मन्त्रालय अन्तर्गत बागलुङको जैमिनी नगरपालिकाको तल्लो सडक स्तरोन्नतीका लागि ९७ लाख, जैमिनी नगरपालिका–१ आहार चौर हुँदै भण्डार सडक स्तरोन्नतिका लागि एक करोड, पैयूपाटा–जलजला–भैरवस्थान सडक क्रमागत योजनाअन्तर्गत कालोपत्रेका लागि रु. एक करोड र बागलङ नगरपालिका–१२ अमलाचौर, छापाखोला सडक स्तरोन्नतिका लागि ४८ लाख ५० हजार रकम विनियोजन गरिएको छ।

बागलुङ तित्याङ–निफन्नी–भकुण्डे सडक स्तरोन्नती गर्न दुई करोड, करिडोर धुरपुला–तालकुना सडक मर्मतका लागि ४८ लाख र बुकेनी–मनकामना–गैराफाँट हुँदै बौडैचौर पुग्ने सडकका लागि २३ लाख ५० हजार बजेट विनियोजन गरिएको छ। बजेट साउनलगत्तै कार्यान्वयनमा जाने संघीय सांसद पाठकले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस