सरकारले आन्तरिक ऋण लिने सीमा राख्नुपर्छ : नेता पुन

सफल खबर संवाददाता

शुक्रबार, २७ जेठ २०७९, १५ : ११
सरकारले आन्तरिक ऋण लिने सीमा राख्नुपर्छ : नेता पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले सरकारले आन्तरिक ऋण लिने सीमा राख्नुपर्ने बताएका छन् । शुक्रबार प्रतितिनिधि सभा अन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै पछिल्लो समय आन्तरिक ऋण अत्याधिक रुपमा बढेकोले सीमा राख्नुपर्ने बताएका हुन् ।

उनले विगतमा मुलुकको कुल गार्हस्थ्य उत्पादनको २.५ रहेकोमा अहिले ५ प्रतिशत भन्दा बढी पुगेको बताए । सांसद पुनले आन्तरिक ऋण बृद्धि भएकै कारण पछिल्लो समय बजारमा बैंकिङ तरलता भएर निजी क्षेत्रले ऋण पाउन नसकेको बताए ।

उनले वैदेशिक ऋणलाई उत्पादनमुलक क्षेत्रमा र पुँजी निर्माणको क्षेत्रमा खर्च गर्नुपर्ने सरकारको नीतिको समर्थन गरे । उनले भने, ‘१२ खर्ब वैदेशीक ऋणको कुरा रहेको छ । त्यसमा वान थर्ड भन्ने आएको छ । एक तिहाइमा नबढ्ने गरी यो ठिकै जस्तो देखिन्छ । यसको दफाहरुमा वृहत छलफल गरौंला । आन्तरिक ऋणमा पनि सीमा हुनुपर्ने हो ।’

उनले थपे, ‘अहिले आन्तरिक ऋण धेरै उठिरहेको छ । जीडीपीको २.५ प्रतिशतमा बस्ने गरेको थियो । अहिले आन्तरिक ऋण बढेर गएको छ । अहिले ५ प्रतिशत भन्दा बढी भएको छ । हाम्रो समस्या यहाँ रहेको छ । यसले तरलता अभाव हुने, नीति क्षेत्रले ऋण नपाउने समस्या हुन्छ । वैदेशिक ऋणमा उत्पादनमुलक क्षेत्रमा र पुँजी निर्माणको क्षेत्रमा खर्च गर्नुपर्छ भन्ने कुरा सही रहेको छ ।’

प्रतिक्रिया दिनुहोस