सुक्खा पहिराेले पुरिएर दुई मजदुरको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १८ जेठ २०७९, १३ : ३८
सुक्खा पहिराेले पुरिएर दुई मजदुरको मृत्यु

किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । 

चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । 

आज बिहान ११ बजे चैनपुर–नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा पहिराले पुरिएर धरानका राई र उदयपुरका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताए । चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ । 

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको छ । 

प्रतिक्रिया दिनुहोस