ताइवानको संसदमा विधायकहरूबीच घम्साघम्सी, एकजना घाइते

एजेन्सी

सोमबार, १६ जेठ २०७९, २१ : ३४
ताइवानको संसदमा विधायकहरूबीच घम्साघम्सी, एकजना घाइते

ताइवान । भ्रष्टाचारको आरोप खेपिरहेका पूर्व राष्ट्रपति चेन शुई–बियानको सजायलाई उल्टाउन प्रयोग गर्न सकिने भनिएको एक विधेयकलाई लिएर ताइवानका सांसदहरुबीच झडप भएको छ । लाउडस्पिकर बोकेका विपक्षी कुओमिन्ताङ (केएमटी) का दर्जनौँ विधायकहरूले सदनको पोडियममा पुगेर विधेयकको तेस्रो पठन रोक्ने प्रयास गरेपछि सदनमा हङ्गामा भएको हो । 

विधेयकलाई लिएर तनाव बढ्दै गएपछि सांसदहरू बीच धकेलाधकेल भएको थियो । पछि पानी र कागजसमेत एक अर्कामाथि फ्याँकिए । ठेलम ठेलकाबीच सत्तारुढ डेमोक्रेटिक पिपुल्स पार्टी (डीपीपी) का एक विधायक लड्दा उनको हातमा सामान्य चोट लागेको थियो । 

एक घन्टासम्म होहल्ला पछि सदनमा छाएको अराजकता शान्त भयो । तथापि दिउँसोसम्म केएमटीका विधायकहरूले प्लेकार्ड लिएर सदनमा धर्ना दिएका थिए ।  केएमटी विधायकहरूले राष्ट्रपति साई इङ्ग–वेनले कोभिड–१९ पछिल्लो प्रकोपको फाइदा उठाएर कार्यकारीले ‘राज्य कोषको गोप्य खर्च’ को प्रयोगलाई कारबाही नहुने कानुन पारित गर्न लागेको आरोप लगाएका छन् । 

सन् २००८ मा भ्रष्टाचार काण्डमा मुछिएका र राज्य कोषको दुरुपयोग गरेकोमा दोषी पाइएका सत्तारुढ डीपीपीबाट पहिलो पटक राष्ट्रपति बनेका चेनलाई निर्दोष देखाउन विधेयक ल्याइएको आरोप लगेको छ । सन् २००० देखि २००८ बीच ताइवानको शासन गरेका चेनलाई सुरुमा आजीवन कारावासको सजाय सुनाइएको थियो, जुनपछि १९ वर्षमा झारियो । उनी हाल चिकित्सकीय कारणले जेल बाहिर छन्।

राजनीतिक पतनअघि चेन बेइजिङ पक्षधर केएमटीको दशकौँको एकल–पार्टी शासन हटाएको कुराले चिनिन्थे । यस विधेयकमा यसअघि पनि तनाव सिर्जना भएको थियो । अप्रिलमा मस्यौदा कानुनको प्रारम्भिक समीक्षा हुँदा विधायकहरूले कार्यबाहीमा बाधा पुर्‍याउने प्रयास गरे र नक्कली नोटहरू फालेका थिए ।

केएमटीले सोमबारको विरोधका क्रममा पनि सरकारको महामारीविरुद्धको प्रतिक्रिया र कोभिड–१९ को कारण बढ्दो मृत्युलाई लिएर आलोचना पनि गरे ।  भाइरसको विस्तारलाई दुई वर्षसम्म रोकेको ताइवान अहिले यसको सबैभन्दा खराब प्रकोपसँग लडिरहेको छ । अधिकारीकाअनुसार दैनिक ७० हजारदेखि ९० हजारमा सङ्क्रमण पहिचान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस