रुसी संसद्‌द्वारा पश्चिमा मुलुकका सञ्चार माध्यममाथि प्रतिबन्ध लगाउने विधेयक अनुमोदन

सफल खबर संवाददाता

बुधबार, ११ जेठ २०७९, १४ : ४३
रुसी संसद्‌द्वारा पश्चिमा मुलुकका सञ्चार माध्यममाथि प्रतिबन्ध लगाउने विधेयक अनुमोदन

रुसको संसद्ले पश्चिमा मुलुकका सञ्चार माध्यममाथि प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार रुसी संसद्को यो कदमले रुसप्रति ‘असहिष्णु’ मुलुकका मिडियामाथि प्रतिबन्ध लगाउन राष्ट्रपति भ्लादिमिर पुटिनलाई बाटो खुल्नेछ ।उक्त विधेयकले मुलुकको अभियोजनकर्ताको कार्यालयले प्रतिबन्ध लगाएका मिडियामा प्रकाशित लेख वा सामग्रीको पनि वितरण गर्न पनि बन्देज लगाउनेछ ।

उक्त विधेयकको पहिलो चरण रुसी संसद् डुमाको तल्लो सदनले पारित गरेको रोयटर्सले जनाएको छ । तल्लो सदनमा अरु दुई चरणमा यो विधेयक पारित हुने र माथिल्लो सदनले मूल्यांकन गरेपनि बल्ल राष्ट्रपति पुटिनले हस्ताक्षर गरेपछि लागू हुने जनाइएको छ ।यस विधेयकअनुसार यसमा उल्लेखित प्रावधान उल्लङ्घन गर्ने पत्रकारको विदेश मन्त्रालयको इजाजत फिर्ता लिइनेछ ।

यो विधेयकलाई आन्द्रेई लुगोभोए लगायतका विधायकहरूले अघि सारेको रोयटर्सले जनाएको छ । लुगोभोए सन् २००६ मा पुटिनका आलोचक अलेक्जाण्डर लिट्भिनेन्कोको हत्याका लागि बेलायतमा अभियोग खेपिरहेका छन् ।

रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले रुसी सञ्चार माध्यमहरूलाई चल्न बन्देज लगाएको भन्दै बारम्बार क्रुद्ध प्रतिक्रियाहरु दिइरहेका छन् ।गत मार्च महिनामा पुटिनले जानाजान ‘फेक’ (झूट) समाचार फैलाउनेलाई १५ वर्षसम्मको जेल सजाय हुने कानूनमा हस्ताक्षर गरेका थिए । त्यसयता धेरै विदेशी पत्रकारले रुस छाडिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस